नेपाली सेनाको पहलमा जिल्लास्थित निशान भवगती मन्दिरको जीर्णोद्घार गरिएको छ । नेपाल एकीकरणका समयमा विसं १८२६ मा स्थापना भएको सो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको थियो । जीर्णोद्घार गरिएको मन्दिरको सहायक रथी महेशकुमार थापाले शनिबार शुभारम्भ गर्नुभएको छ ।
इतिहास बोकेको मन्दिरको जीर्णोद्घार भएसँगै स्थानीयवासी खुशी भएका छन् । “यो भोजपुरको इतिहास बोकेको मन्दिर हो”, स्थानीयवासी परशुराम तिवारीले भन्नुभयो, “सेनाले जीर्णोद्घार गरेर उद्घाटन पनि भयो । यसले यहाँको इतिहास संरक्षणमा टेवा मिलेको छ ।”
मन्दिरको रु २१ लाख २६ हजार चार सय ५४ लागतमा जीर्णोद्घार सम्पन्न भएको फस्टरैफल गणका गणपति विश्वनाथ तिमलसेनाले जानकारी दिनुभयो ।
सो अवसरमा सहायक रथी थापाले सेनाले पौराणिक महत्व र इतिहास बोकेका ठाउँहरुको संरक्षण गर्दै लैजाने नीतिअनुसार मन्दिरको संरक्षण गरिएको बताउनुभयो । “सेनाले एक कार्यक्रम नै अघि सारेर पौराणिक महत्व र इतिहास बाकेका स्थलहरूको संरक्षण गर्दै आएको छ”, उहाँले भन्नुभयो, “यही कार्यक्रमअनुसार सेना र स्थानीयवासीको सहयोगमा यो मन्दिरको जीर्णद्वार गरेका छौँ ।”
सो अवसरमा भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले मन्दिरको निर्माणमा सेनाले खेलेको भूमिका उल्लेख्य रहेको जनाउँदै मन्दिरको आगामी दिनमा संरक्षणका लागि पूर्ण स्वामित्व लिनसमेत नगरपालिका तयार रहेको बताउनुभयो ।






