झापा,फागुन ६ : जयन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषले विभिन्न चार फरक विधाका प्रतिभालाई आज नगदसहित सम्मान गरेको छ ।
विर्तामोडमा संस्थाको २०औँ वार्षिकोत्सवको अवसर पारेर वर्षोत्कृष्ट कृति, विष्णु पद्म चन्द्र विशेष प्रतिभा पुरस्कार, सक्रिय महिला पत्रकारिता पुरस्कार तथा फरक क्षमताको एकसहित चारवटा पुरस्कार प्रदान गरिएको हो ।
जयन्द्रप्रसाद प्रसाईँ उत्कृष्ट वर्षोत्कृष्ट कृति पुरस्कारबाट ‘महाभारा’ उपन्यासका स्रष्टा वसन्त बस्नेतलाई पुरस्कृत गरेको छ । विसं २०७८ मा प्रकाशित साहित्यिक कृतिमध्ये महाभारा कृतिलाई वर्षोत्कृष्ट कृतिका रूपमा पुरस्कृत गरिएको हो ।
विष्णु पद्म चन्द्र प्रतिभा पुरस्कारबाट पूर्व प्राज्ञसभा सदस्य पत्रकार तथा चित्रकार पवन राजवंशी र धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारबाट सिर्जना घिमिरे पुरस्कृत हुनुभएको छ ।
पुरस्कृत कृतिकार तथा प्रतिभालाई जनही रु २५–२५ हजार राशिसहित साहित्यकार कोमल पोखरेलले सम्मान गर्नुभएको संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईँले बताउनुभयो ।
त्यसैगरी कोष स्थापनाको २०औँ वर्ष पुगेको अवसरमा स्थापना गरेको फरक क्षमता भएका व्यक्तिलाई प्रदान गरिने रु ११ हजारसहितको सम्मान चन्द्रप्रसाद भट्टराईलाई प्रदान गरिएको छ ।
विसं २०५९ मा स्थापना भएको जयन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषले प्रत्येक वर्ष वर्षोत्कृष्ट कृति, विष्णुचन्द्र पद्मा सम्मान, धनमाया सक्रिय पत्रकारिता पुरस्कार वितरण गर्दै आएको अध्यक्ष प्रसाईँको कार्यक्रममा जानकारी दिनुभयो ।






