कैलाली, फागुन ५ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट विनियोजनका सन्दर्भमा त्यसको निश्चित मापदण्ड बनाएर प्रदेश सरकार अगाडि बढ्ने बताउनुभएको छ ।
जिल्ला समन्वय समिति कैलालीले आज धनगढीमा आयोजना गरेको आर्थिक वर्ष २०७८-०७९ को वार्षिक प्रगति समीक्षा एवं अनुभव आदान प्रदान गोष्ठी तथा साताँै जिल्ला सभा समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।
कुनै पनि जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यले बजेट विनियोजन तथा बजेट हाल्ने सन्दर्भमा कमिसनका क्रियाकलाप गरिएको थाहा पाइए उहाँहरूलाई कानूनको दायराभित्र ल्याउन लागि आफू अगाडि बढ्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री शाहले मुलुकको समग्र विकासका लागि एउटा प्रक्रियामा जान जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जबसम्म हामी सिस्टम वा प्रक्रियाबाट अगाडि जान सक्दैनौँ तबसम्म मुलुकको विकास हुन सक्दैन, तपाईं हामी सबै मिलेर विकास गर्नुपर्ने र राम्रो सन्देश दिनुपर्ने छ, मुलुकको विकासका लागि हामीले केही न केही गर्नुपर्ने छ र केही न केही सन्देश दिनु छ र त्योअनुसार हामी अगाडि बढ्नु पर्नेछ ।”
पालिकालाई अझ बढी व्यवस्थित र कार्यक्रममुखी बनाउन ध्यान दिनुपर्ने उहाँको भनाइ छ । मुख्यमन्त्री शाहले वडा, पालिका, प्रदेश र सङ्घमा जितेका जनप्रतिनिधि पूर्णरूपमा जनताप्रति जवाफदेही र उत्तरदायी हुनपर्ने बताउनुभयो ।






