नवलपरासीमा तस्करले गैँडा मारेपछि गरिएको अध्ययनमा एकै रातमा एक सय नौवटा गैँडा बस्ती पसेको पाइएको छ । नवलपरासीमा मात्रै ६१ ठाउँबाट ती गैँडा निकुञ्जबाट बाहिरिएका हुन् । साँझको समयमा गाउँ पस्ने र झिसमिसेमा वन पस्ने गरेको अध्ययनले देखाएको छ ।
चितवनका विभिन्न नाकाबाट गैँडा दैनिक साँझमा बस्ती पस्ने गर्दछन् । राप्ती, नारायणी नदी छेउबाट र माडीका वन क्षेत्रबाट दैनिक गैँडा बस्ती पस्ने गरेका छन् । यकिन तथ्याङ्क नभए पनि ठूलो सङ्ख्यामा गैँडा बस्ती पस्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो । उहाँका अनुसार निकुञ्जको कसराबाट पश्चिमी क्षेत्रमा धेरै गैँडा बस्ती पस्ने गरेको गुनासो आउने गरेको छ ।
निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता मरेका १२ गैँडामध्ये ११ ओटा कसरा पश्चिममा रहेका आचार्यले जानकारी दिनुभयो । घाँसेमैदान कम र गैँडाको सङ्ख्या धेरै हुँदा आहारको खोजीमा गैँडा बस्ती पस्ने गरेको उहाँको भनाइ थियो । गत माघमा करेन्ट लागेर नवलपरासीको सेरीमा दुई वटा गैँडा मरेपछि निकुञ्जले गैँडाकोटदेखि बगुवानसम्म अध्ययन गरेको थियो ।
“तटबन्धन गर्दै गएपछि नदी साँघुरो बनेको तथा निकुञ्ज र आसपासका वन क्षेत्रमा घाँस कम भएसँगै गैँडा राति गाउँ पस्न थालेका छन्”, उहाँले भन्नुभयो । बस्ती नजिकका खेतबारीमा आलु, मकै, जौ, घाँस, नेपियर घाँस, मुसुरो, गहुँजस्ता बाली गैँडाले मन पराउने भएकाले पनि गैँडा बस्ती पस्ने गरेका आचार्यले बताउनुभयो ।






