नगर अस्पताल स्वास्थ्य सहायकको भरमा

  फागुन ०३, २०७९

पर्वतको कुस्मा नगरपालिका–१२, ठूली पोखरीस्थित नगर अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको छ । एक एमबीबीएस चिकित्सकसहित दस जनाको दरबन्दी रहेको उक्त अस्पताल विगत चार वर्षदेखि स्वास्थ्य सहायकले निमित्त भइ चलाउँदै आएका छन् ।

दरबन्दीमा रहेका चिकित्सक अध्ययन बिदामा गएपछि हालसम्म अन्य चिकित्सक आएका छैनन् । डा विवेक भण्डारी २०७५ सालमा अध्ययन बिदामा गएपछि केन्द्रमा दरबन्दीको कुनै पनि चिकित्सक पठाइएन । सुविधासम्पन्न भौतिक पूर्वाधार र एम्बुलेन्ससहित आधुनिक उपकरण भए पनि दरबन्दीका चिकित्सक नै नआएपछि सेवाग्राही मारमा परेका छन् । अस्पतालका निमित्त प्रमुख सागर नेपालीले भन्नुभयो, “दरबन्दीका चिकित्सक नै जिल्लामा नभएर होला, भएको भए त आउनुपर्ने हो ।” नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा दिन ग्रामीण क्षेत्रमा खोलिएको आधारभूत अस्पताल दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारण सामान्य बिरामी हुँदासमेत पोखरा वा काठमाडौँ जानुपर्ने बाध्यता छ ।

देश सङ्घीय संरचनामा गएपछि दरबन्दीका चिकित्सक आउन छाडेका र स्थानीय तह तथा प्रदेश सरकारले व्यवस्थापन नगरेका कारण समस्या भएको उहाँको भनाइ थियो । केही समय एमबीबीएस सकेपछि अनिवार्य सेवा गर्नुपर्ने भएकाले एक÷दुई चिकित्सक आए पनि उनीहरूको समेत सेवा सकिएकाले निमित्तको भरमा उक्त केन्द्र सञ्तनलन हुँदै आएको हो । अहिले स्वास्थ्य केन्द्रमा करार सेवाका एक स्वास्थ्य सहायक, एक ल्याब असिस्टेन्ट, एक स्टाफ नर्स, तीन अनमी र स्थायी तीन अहेब छन् ।
उक्त नगरपालिकाका साथै मोदी गाउँपालिका, फलेवास नगरपालिका र स्याङ्जाको आँधीखोला गाउँपालिकाका बिरामीसमेत आउने अस्पतालमा पर्याप्त स्वास्थ्यकर्मी नहुँदा समस्या भएको वडाध्यक्ष झलकप्रसाद रिमालले बताउनुभयो । अस्पतालमा चिकित्सक मात्रै नभएर अन्य उपकरणसमेत पर्याप्त छैनन् । एक्सरे मेसिन बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको अस्पतालका सिनियर अहेब पठी धामीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया