प्रतिनिधिसभाका सांसदहरुले जनजीविकाका विभिन्न विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले प्रजातन्त्र स्थापनाको ६२ वर्ष पूरा हुँदा पनि नेपालीहरु आधारभूत आवश्यकताकै लागि भाँैतारिनुपरेको बताउनुभयो । धनी र गरिबले पढ्ने दुई थरी विद्यालय अरू कुन देशमा छ भनी उहाँले प्रश्न गर्नुभयो ।
आर्थिक अवस्था कमजोर हुनेले स्वास्थ्य उपचार गर्न नसक्ने गरी मेडिकल माफियाले काम गरेको, छिमेकी देशमा छोटो समयमा अस्पताल बन्ने गरेको उल्लेख गर्नुहुँदै नेपालमा क्यान्सर अस्पताल भए पनि परीक्षण गर्ने यन्त्र नभएकोतर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेकपा ९एमाले०का सांसद योगेशकुमार भट्टराईले सडक दुर्घटनाबाट वार्षिक तीन प्रतिशत कूल गार्हस्थ्य उत्पादन गुमाइरहेकाले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले स्विडेन, जर्मनमा सडक दुर्घटना कम गरिएको उदाहरण सुनाउनुहुँदै अन्तर्राष्ट्रियस्तरको चालक अनुमतिपत्रको व्यवस्था गर्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।
विकास तथा प्रविधि समितिले सडक दुर्घटना कम गर्न दिएको प्रतिवेदन कार्यान्वयन नभएको भन्दै उहाँले सडक विभागले बनाएको सडक ठीक छ छैन भनी जाँच गर्ने छुट्टै निकाय चाहिने माग गर्नुभयो ।
नेकपा ९माओवादी केन्द्र०का सांसद पूर्णबहादुर घर्ती मगरले सङ्घीयता लागू भएको स्थानीय तहमा आवश्यक कर्मचारीको कमी हुँदा स्थानीय जनताले सेवा प्रवाहका कठिनाइ भएको बताउनुभयो । उहाँले किसानलाई अनुदानभन्दा सहुलियतको व्यवस्था गरेर किसानका उत्पादनका लागि बजार सुनिश्चित गर्न सके मात्र आत्मनिर्भरमुखी कृषि बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले संसद्मा सत्ता पक्ष र विपक्ष भए पनि संविधान कार्यान्वयनका सम्बन्धमा सबै शक्ति एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।






