स्रोतमा फोहर वर्गीकरण गर्नै चुनौती

  फागुन ०३, २०७९

काठमाडौँ महानगरपालिकाले सात महिनादेखि स्रोतमा फोहर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्ने भने पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । फोहर व्यवस्थापन कार्य प्रभावकारी बनाउन कामपाले गत साउन १ गतेदेखि स्रोतबाटै कुहिने र नकुहिने फोहर वर्गीकरणको काम थाल्यो । कामपाको ३२ वटै वडामा अझै उक्त किसिमले फोहरको वर्गीकरण हुन सकेको छैन । सुरुमा केही दिन नगरवासीले घरबाट नै वर्गीकरण गरी ल्याउने गरेपनि अहिले सबै किसिमको फोहर एउटै भाँडोमा राखेर व्यवस्थापनको काम भइरहेको छ ।

कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार अहिले पनि केही वडाबाट फोहर वर्गीकरण गरी ल्याइन्छ । केही वडाबाट सबै फोहर एकै ठाउँमा राखेर व्यवस्थापन गर्नुपरेको छ ।

प्रमुख श्रेष्ठले भन्नुभयो, “कुहिने फोहर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्न स्थान खोज्ने काम भइरहेको छ, त्यसबारे कामपाले केन्द्र सरकासँग छलफल गरिरहेको छ । स्थान प्राप्त हुनेबित्तिकै स्रोतमा नै फोहरको वर्गीकरण गरी प्रभावकारी रुपमा कार्यान्वयन हुन्छ ।”

परीक्षणका रुपमा यसै हप्तादेखि टेकु ट्रान्सफर स्टेसनमा नै कुहिने फोरलाई मल बनाउने काम सुरु हुन्छ । “यो सँगै उपत्यकाको अन्य केही स्थान र काठमाडौँ उपत्यकाको अन्तिम फोहर व्यवस्थापन स्थान बञ्चरेडाँडामा पनि कुहिने फोहर अलग राखेर मल बनाउने काम सुरु गर्ने तयारी कामपाको छ”, प्रमुख श्रेष्ठले भन्नुभयो ।

तत्कालका लागि स्थान अभावकै कारणले यो काम प्रभावकारी हुन नसकेको बताइएको छ ।

अन्तिम फोहर व्यवस्थापन स्थानमा फरक किसिमले व्यवस्थापनको प्रबन्ध गरेसँगै पुनः साउन पहिलो साताझँै स्रोतमा नै फोहर छुट्टयाएर काम हुने विश्वास कामपाको छ ।

कामपाको कूल ३२ मध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । वर्गीकरण योजना सबै वडामा लागू गरिएको छ ।

तपाईको प्रतिक्रिया