प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी कर्मचारी जुनसुकै बेलामा शान्तिसुरक्षा अमनचयनका लागि आवश्यक तयारीमा रहनुुपर्ने बताउनुभएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र मातहतका प्रहरी कार्यालयका प्रमुखहरूलाई आज प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै उहाँले कुनै पनि अपराधका घटना हुन नदिन प्रहरी कर्मचारीको सक्रियता महत्वपूर्ण रहने उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक सिंहले जिम्मेवारीलाई पूर्ण रुपमा सम्पादन गर्न निर्देशन पनि दिनुभएको छ । उहाँले हालैका घटनाको समीक्षा गर्दै सम्भावित घटनाको पूर्वानुमान गरी तयारी अवस्थामा रहन पनि उपत्यकाका प्रहरीहरुलाई निर्देशन दिनुभयो ।
आमनागरिकलाई राज्यको उपस्थितिको अनुभूति दिने संस्था भनेको प्रहरी नै भएको जनाउँदै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, “हालैका घटनाको समीक्षा गर्दै आगामी दिनमा हुनसक्ने घटनाको पूर्वानुमान गरी तयारी हालतमा रहन र आवश्यकता अनुरूप कानुनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउनु ।” उहाँले घटनालाई गम्भीरताका साथ लिएर संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी चुक्न नहुने बताउनुभयो ।
उहाँले ट्राफिक जाँचलाई अझ व्यवस्थित गराउनुपर्ने उल्लेख गर्दै आर्थिक पारदर्शितामा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरी सबै प्रहरी कर्मचारीले अत्यन्तै व्यावसायिक भएर जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो । फरार अभियुक्त पक्राउलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने तथा अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर कार्य गर्न पनि आग्रह गर्नुभयो ।






