ज्येष्ठ नागरिकको उपचार घरमै

  फागुन ०३, २०७९

गलकोट नगरपालिकाले गाउँ–गाउँमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र औषधि दिन थालेपछि वृद्धवृद्धा खुसी भएका छन् ।

गलकोट नगरपालिका–१० की ८४ वर्षीया पावर्ती रानाले उपचारका लागि घण्टौँ धाएर स्वास्थ्य चौकी पुग्ने गरेको बताउँदै अहिले घरमै उपचार पाउँदा खुसी भएकोे बताउनुहुन्छ ।

नगरपालिकाले ६० वर्षमाथिका ज्येष्ठ नागरिकको सहजताका लागि गत माघदेखि घरमै स्वास्थ्य परीक्षण तथा औषधि उपलब्ध गराउन थालेको छ । घरमै उपचार पाएपछि उहाँ दङ्ग हुनुभएको छ, “सामान्य उपचारका लागि घण्टौँ लगाएर बजारमा पुग्नु पथ्र्यो, अहिले घरमै चिकित्सकले जाँचेर औषधि दिएपछि मलाई निकै खुसी लाग्यो, बुढेसकाल लाग्यो बजारमा झरेर उपचार गराउन समस्या थियो तर घरमै चिकित्सक आएपछि उपचारका लागि कुनै समस्या भएन ।” पहिले गाउँमा कोही बिरामी परे धामी झाँक्री खोज्ने गरेको स्मरण गर्दै उहाँ अहिले घरमै उपचार पाएर औषधि खान थालिएको जानकारी दिनुहुन्छ ।

गलकोट–२ की ७९ वर्षीया मनकुमारी भण्डारीले अघिल्लो महिना घरमा आएका स्वास्थ्यकर्मीसँग स्वास्थ्य परीक्षण गराउनुभयो । उहाँलाई स्वास्थ्यकर्मीले औषधिसमेत उपलब्ध गराए । “घरमै स्वास्थ्य जाँच र औषधि पाएपछि मुलुकमा साँच्चिकै परिवर्तन आएको अनुभव भएको छ”, उहाँले भन्नुभयो ।

भण्डारी भन्नुहुन्छ, “केही दिनदेखि सञ्चो भएको थिएन, अस्पताल जाने निधो गरेको थिएँ, त्यही बेला घरमै चिकित्सकहरुले जाँच गरेर औषधि दिए, अस्पताल जानै परेन । नगरपालिकाले घरमै उपचार गर्न पठाउँछ भन्ने सुने पनि विश्वास लागेको थिएन, तर हो रैछ, हामीजस्ता उमेर नाघेका बूढाबूढीलाई सजिलो हुने भयो ।”

तपाईको प्रतिक्रिया