काठमाडौँ,फागुन २ : महिला उद्यमी महासङ्घकी वरिष्ठ उपाध्यक्ष शोभा ज्ञवालीद्वारा लिखित ‘सङ्घर्ष’ कथासङ्ग्रह पुस्तक विमोचन गरिएको छ ।
राजधानीमा आज एक कार्यक्रमका बीच उक्त पुस्तक राजनीतिज्ञ डा बाबुराम भट्टराई, साहित्यकार डा नवराज लम्साल, समालोचक डा ज्ञानु पाण्डे, समाजसेवी अनुराधा कोइरालालगायतले संयुक्तरूपमा सार्वजनिक गर्नुभएको हो ।
नारीका सङ्घर्ष समेटिएका दुई सय ५२ पृष्ठको पुस्तकमा २६ कथा समेटिएका छन् । सबै कुरामा सक्षम र क्षमतावान् हुँदाहुँदै पनि आम महिलाले जीवनभर गर्नुपर्ने सङ्घर्षको कथा किताबमार्फत उतारेको लेखिका ज्ञवालीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “महिला शक्ति, विचार, सोचाइ सबैमा सक्षम भए पनि बाँचुञ्जेल सङ्घर्ष गर्नुपर्ने यथार्थ हामी माझ छ, एउटी महिला घर, कार्यालय, समाजसँग विभिन्न समस्यासँग जुध्दै निरन्तर सङ्घर्षशील जीवन बिताउन बाध्य छिन् ।” आगामी दिनमा ती सङ्घर्षलाई अझै खोतल्दै जाने उहाँले स्पष्ट पार्नुभयो ।
नेपालमा मात्र नभई संसारभर लैङ्गिक विभेद रहेको नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले बताउनुभयो । महिला र पुरुष दुवैले सङ्घर्ष गरेर मात्रै लैङ्गिक विभेदको अन्त्य हुने उहाँको भनाइ थियो ।
विभेद हटाउन महिला आफँै नेतृत्वमा पुग्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री डा भट्टराईले राज्य संरचनामा परिवर्तन नल्याएसम्म यो समस्या रहिरहने बताउनुभयो ।
मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार डा नवराज लम्सालले ज्ञवालीद्वारा लिखित ‘सङ्घर्ष’ पुस्तकमा महिलाका सामान्य समस्यालाई पनि समेटिएको बताउनुभयो ।
समालोचक डा ज्ञानु पाण्डेले उक्त पुस्तकले समाजमा भएका विसङ्गति, बेथिति र असमानताका विरुद्ध चेतना निर्माण गर्न भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
समाजसेवी अनुराधा कोइरालाले महिलाको समस्या हल गर्न सरकारले अनिवार्यरूपमा शिक्षा निःशुल्क गर्नुपर्नेमा जोड दिनुभयो । ज्ञवालीले यसअघि पनि पुस्तक प्रकाशन गर्नुभएको थियो ।