पोखरीया, फागुन २ : स्वर्गीय गोपालचन्द्र गोतामे स्वर्ण पदक पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासङ्घ धनुषाकी अध्यक्ष मनिका झालाई प्रदान गरिएको छ ।
पर्साको वीरगन्जमा गोपालचन्द्र गौतम प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अन्नपूर्ण पोष्टकी मधेस प्रदेश ब्यूरो प्रमुख समेत रहनुभएकी झालाई एक तोला सुनसहितको उक्त पुरस्कार प्रदान गरिएको हो ।
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, स्वर्गीय पत्रकार गौतमकी धर्मपत्नि सुधा गौतम र पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले झालाई पत्रकारिता स्वर्ण पदक प्रदान गर्नुभयो ।
वीरगन्जका पत्रकार स्व गौतमको स्मृतिमा १३ वर्ष अघि स्थापित उक्त पुरस्कार प्रतिष्ठानले सामाजिक उत्तरदायित्वअनुरूप अब्बल पत्रकारिता गर्ने एक सञ्चारकर्मीलाई प्रत्येक वर्ष प्रदान गर्दै आएको छ ।
यसअघि उक्त पुरस्कारबाट विभिन्न जिल्लाका ११ पत्रकार पुरस्कृत भइसकेका छन् । गत वर्ष सो पुरस्कार सप्तरीका पत्रकार बैजनाथ झालाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले जानकारी दिनुभयो ।






