सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स

  फागुन ०२, २०७९

झापाको कमल गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गरी सञ्चालन गरिएको एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा पालिकाले सञ्चालन गरेको महिलाका लागि सुत्केरी एम्बुलेन्स कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

रेडक्रसले मानवीय सेवासँगै यो कार्यक्रम सञ्चालन गरेपछि विपन्नका लागि सुत्केरी एम्बुलेन्स कार्यक्रम बरदानझै बन्न पुगेको रेडक्रस उपशाखा सभापति चन्द्र साहले बताउनुभयो । साहका अनुसार पालिकाभित्र स्थायी बसोबाससँगै स्वास्थ्य जाँच नियमित गर्ने महिलालाई सुत्केरी हुने क्रममा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्न थालिएको छ ।

चालु वर्षबाट सुरु भएको यस कार्यक्रममा रेडक्रसले आफ्ना दुई वटा एम्बुलेन्स परिचालन गरेको छ । रेडक्रसलाई दातामार्फत पाँच वर्षअघि एउटा एम्बुलेन्स प्राप्त भएको छ । एउटा भने वर्षदिन अघि मात्र पालिकामार्फत उपलव्ध भएको एम्बुलेन्सले सेवा पु¥याउँदै आएको छ । सेवा लिन बसोबास खुलेको कागजात, नियमित स्वास्थ्य जाँचजस्ता निश्चित सर्त पूरा गरेको हुनुपर्ने उपशाखा सचिव पारषमणि राई बताउनुहुन्छ । यस कार्यक्रमबाट ग्रामीण क्षेत्रका सुत्केरी महिला लाभान्वित भएको उहाँको भनाइ छ ।

चालु आर्थिक वर्ष २०७९÷८० बाट सुरु भएको यस कार्यक्रमबाट हालसम्म एक सय ३४ जनाले सेवा लिएका छन् । सेवा लिने अधिकांश विपन्न समुदाय रहेको तथ्याङ्कमा उल्लेख छ । सुत्केरी महिलालाई अस्पतालसम्म पु¥याएबापत पालिकाले इन्धन र न्यून सेवा शुल्क उपलव्ध गराउँदै आएको सचिव राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया