गुफा भित्रको कलात्मक आकृति हेर्न घुइँचो

  फागुन ०२, २०७९

ग्रामीण सडक खन्न लाग्दा भित्ताको चेपभित्रको गुफामा कलात्मक आकृति भेटिएपछि यहाँ अहिले अवलोकन गर्न आउनेको घुइँचोे छ ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९दाप्चाको घट्टेखोलास्थित सडक छेउको भित्तामा रहेको गुफामा चुनढुङ्गाको कलात्मक आकृति भेटिएपछि त्यहाँ मानिसको भीड लागेको हो । गुफाका भित्ताभर विभिन्न आकृतिका कलात्मक चित्रहरु देखिए पछि देवीदेवताको बासस्थान रहेको भन्दै पूजा गर्न थालिएको छ । अहिले सो ठाउँमा दैनिक सयौँको सङ्ख्यामा स्थानीय बासिन्दा जाने गरेका छन् । वडानं ८ गहतेका हिराबहादुर तामाङ छोराले सामाजिक सञ्जालमा गुफाका बारेमा राखेको थाहा पाएर हेर्न आएको बताउनुभयो ।

वडा नं ९ बाघमाराका बद्री श्रेष्ठले भित्र पस्न अफ्ठेरो भए पनि गुफाभित्र पुगेपछि देवीदेवताको विभिन्न आकृति देख्न पाइएको जानकारी दिनुभयो । “धेरै पटक भित्र गएर हेरेको छु”, उहाँले भन्नुभयो, “त्यहाँ गएपछि धेरै आकर्षक आकृतिहरु हेर्न पाइन्छ ।” सो ठाउँको जग्गाधनीसमेत रहनुभएका वडा नं १० का विनोद लामाले वडा नं ९ बाट बसेरी जोड्ने सडक खन्ने बेलामा सो ठाउँमा फूल आकृतिको ढुङ्गाका साथै बाघको दाह्राजस्तो ढुङ्गासमेत फेला पारेको बताउनुभयो । “करिब दुई वर्षअगाडि सो ठाउँ भएर सडक खन्ने क्रममा भित्ताको चेपमा मान्छे पस्न सक्ने सानो दुलो देखापरे पनि करिब एक महिनाअगाडि मात्रै भित्र पसेर हेर्दा विभिन्न आकृति पाइएपछि मानिसको भीड बढ्न थालेको हो”, उहाँले भन्नुभयो, “सुरुमा शिवलिङ्ग आकारको ढुङ्गा फेला परेकामा पछि हेर्न आउनेहरुले त्यो ढुङ्गा लिएर गएको बताइएकोे छ ।” भित्र मिलेर बस्दा आठ÷दसजना अटाउने ठाउँ रहेको लामाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया