‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसका अवसरमा आज म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिब आधा घण्टाको दूरीमा रहेको मायाँलुडाँडा ९लभ्लीहिल० मा तन्नेरीको भीड लागेको छ । माया गर्ने जोडीका लागि उत्कृष्टस्थल मानिएको बेनी नगरपालिका–२ खबरामा अवस्थित मायाँलुडाँडामा आज बिहानैदेखि युवायुवतीको भीड लागेको स्थानीय चन्द्रवहादुर कार्कीले जानकारी दिनुभयो ।
“मायालुडाँडामा अघिपछिको तुलनामा केही दिनयता युवायुवतीको आगमन बढेको छ,” उहाँले भन्नुभयो,“आज यहाँ प्रेमिल माहोल देखिएको छ ।”तीन दिनयता म्याग्दी, बागलुङ, पर्वतका साथै म्याग्दी भ्रमणमा आएका विभिन्न जिल्लाका तीन सयभन्दा बढी युवायुवती यहाँ आएर रमाउनाका साथै प्रेम साटासाट गरेका लभ्लीहिल खाजा घर तथा किराना पसलका सञ्चालक नारायण कार्कीको भनाइ थियो ।
केही दिनयता लभ्लीहिलमा आउने युवायुवतीले गुलाबको फूलका साथै विभिन्न किसिमका उपहार बोकेर आउने गरेका र एकापसमा माया साटासाट गर्ने, अङ्कमाल गर्नेलगायत दृश्य देखिने गरेको अर्का स्थानीयवासी देवबहादुर घिमिरेले बताउनुभयो । पहिला खाजाका विभिन्न परिकार बोकेर आउने युवायुवतीले ‘भ्यालेन्टाइन डे’को माहोल सुरु भएपछि भने गुलाब र विभिन्न जातका फूल एकापसमा साटासाट गरेका दृश्य देखिने गरेको लम्भीहिल हरितपार्क निर्माण समितिका अध्यक्ष हरिलाल घिमिरेले जानकारी दिनुभयो ।
“विभिन्न आधुनिक पोसाकमा सजिएर वाइक, स्कुटीलगायत सवारी साधनमा यहाँ आउने युवायुवतीको सङ्ख्या पहिलेको तुलनामा केही दिनयता अधिक देखिन्छ” उहाँले भन्नुभयो “युवायुवतीको सङ्ख्या वृद्धिसँगै यहाँका कृषि उपज र फलफूलको पनि व्यापार बढेको छ ।”






