अर्घाखाँची,फागुन १ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले व्यावहारिक शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० मा रहेको अरनीको आधारभूत विद्यालयको ४४ औँ वार्षिकोत्सव तथा अभिभावक भेलाको उद्घाटन गर्दै मन्त्री श्रीपालीले अहिलेको शिक्षा व्यावहारिक र वैज्ञानिक हुन नसकेको टिप्पणी गर्नुभयो ।
शिक्षालाई व्यवहारिक र प्रयोगात्मक बनाइ उत्पादनमा वृद्धि गर्ने शिक्षाको व्यवस्थापन गर्न सबै पक्ष लाग्नु पर्ने उहाँको भनाइ छ । कार्यक्रममा विद्यालयका प्रधनाध्यापक विष्णुबहादुर घर्तीले विद्यालयको आयव्यय र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
पूर्व विद्यार्थीद्वारा अक्षय कोष स्थापना
सन्धिखर्क नगरपालिका–१० मा रहेको अरनीको आधारभूत विद्यालयका पूर्वविद्यार्थीले विद्यालयमा अक्षय कोषको स्थापना गरेका छन् । नेपाल सरकारका सहसचिव हाल विशेष अदालतका रजिस्ट्रार अशोककुमार क्षेत्रीले एक लाखको अक्षयकोष स्थापना गर्नुभएको हो ।
अक्षयकोषको कार्यविधि विद्यालय व्यवस्थापन समिति र अक्षयकोष दाता मिलेर निर्माण गरिने विद्यालयका प्रधनाध्यापक विष्णुबहादुर घर्तीले जानकारी दिनुभयो ।





