मस्र्याङ्दी गाउँपालिकाले कक्षा १० सम्मका परीक्षा सञ्चालन गर्ने

  फागुन ०१, २०७९

जिल्लाको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिकाले नर्सरीदेखि कक्षा १० सम्मका परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले परीक्षालाई एकरुपता, मर्यादित, विश्वसनीय र वस्तुनिष्ठ बनाउने उद्देश्यले आगामी चैतदेखिका परीक्षा सञ्चालन गर्ने भएको हो ।

केही दिनअघि सम्पन्न गाउँसभाबाट स्थानीय शिक्षा ऐनमा संशोधन गरी उक्त परीक्षा सञ्चालन गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि आफ्नै अध्यक्षतामा पालिकास्तरीय परीक्षा समिति गठन गरी माघ २९ गते बसेको बैठकले विभिन्न निर्णय गर्दै कामलाई अगाडि बढाएको छ ।”

सो बैठकले परीक्षा समितिमार्फत गाउँपालिकाबाट नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत, स्थानीय प्रहरी प्रमुख सदस्य रहने उक्त समितिमा शिक्षा शाखाका प्रमुख सदस्य सचिव र पाँच जना विषयगत उपसमितिका संयोजक सदस्य रहने गरी नौ सदस्यीय परीक्षा समिति रहने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया