हिउँ र पानी नपर्दा म्याग्दीका २५ ठाउँमा डढेलो

  फागुन ०१, २०७९

समयमै हिउँदे वर्षा नहुँदा र लेकाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीका वनैभर डढेलो लागेको छ । म्याग्दी जिल्ला वन डिभिजन कार्यालयका अनुसार जिल्लाका विभिन्न २५ स्थानमा डढेलो लागेको हो ।
अन्नपूर्ण गाउँपालिकाका आठमध्ये छ वटा वडाका विभिन्न ठाउँमा अहिले डढेलो लागिरहेको जिल्ला वन अधिकृत चन्द्रमणि सापकोटाले बताउनुभयो । उहाँका अनुसार अहिले आगलागी भएको जिल्लाको अधिकांश भेग हिमपात हुने क्षेत्र हो तर हिमपात र वर्षा नहुँदा सुक्खा बढेर डढेलो लागिरहेको छ ।

अहिले डढेलो लागेका क्षेत्रमध्ये अधिकांश मानवबस्तीभन्दा टाढाका डाँडाकाँडा हुन् । पश्चिमी म्याग्दीको धवलागिरि गाउँपालिकाको उच्च भेगमा पनि अहिले डढेलोले सताउन थालेको छ । धवलागिरी–४ मुदी भेगको उच्च क्षेत्रमा पनि डढेलो लागिरहेको छ । डढेलोले धेरै नै वन क्षेत्र नोक्सान गरिरहेको वन कार्यालयले जनाएको छ ।

जिल्लाको गुर्जा, मुदी, कुहिने मङ्गले, चिमखोला क्षेत्रमा डढेलो लागिरहेको बताइएको छ । “यो याममा अहिलेसम्म कम्तीमा २५ ठाउँमा डढेलो लागिरहेको छ, यो क्रम अझै बढिरहेको छ,” वन अधिकृत सापकोटाले भन्नुभयो, “दक्षिणी भेगको जङ्गल दिनहुँ डढेलोले सखाप भइरहेको छ ।

ती ठाउँमा पोहोर–परार हिउँदमा हिउँ पर्ने गरेकाले चिसोका कारण हत्तपत्त डढेलो लाग्ने गरेको थिएन । वर्षा भइरहे हत्तपत्त जङ्गलमा आगो लाग्दैनथ्यो तर अहिले भने दिनहुँजसो आगजनीको खबर आउने गरेको उहाँले जानकारी दिनुभयोे ।

 

तपाईको प्रतिक्रिया