एथेन्स,माघ २९ : गत सोमबारको भूकम्पबाट क्षतविक्षत भएको टर्कीए सरकार तथा त्यहाँका जनताप्रति ऐक्यबद्धता जनाउन ग्रीसका विदेशमन्त्री निकोस डेन्डिया टर्कीए भ्रमणमा जानुभएको छ ।
हेलिकप्टरबाट टर्कीएको भूमिमा ओर्लदाँ उहाँलाई टर्कीएका उहाँका समकक्षी मेभलुत काभुसोग्लुले स्वागत गर्नुभयो । लामो समयदेखि दुवै देशबीच प्रतिद्वन्द्वता रहे पनि प्राकृतिक विपत्तिको यो विषम परिस्थितिमा सहयोग गर्न ग्रीसका विदेशमन्त्री टर्कीए जानुभएको हो । भूकम्प प्रभावित क्षेत्रको पनि उहाँले भ्रमण गर्ने कार्यक्रम छ ।
ग्रीसका विदेशमन्त्री डेन्डिया भूकम्पपछि टर्कीएको भ्रमण गर्ने युरोपेली मुलुकको पहिलो मन्त्री हुनुहुन्छ । ग्रीसका उद्धारकर्मीले खोज तथा उद्धारमा सहयोग गरिरहेका अन्टाक्याका केही स्थानमा दुवै देशका मन्त्री पुगेका छन् ।
ग्रीसले धेरै राहत सामग्री टर्कीएलाई उपलव्धगराएको छ । हालसम्म उसले ८० टन औषधि तथा प्राथमिक उपचारका सामग्री प्रदान गरिसकेको छ ।
टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २९ हजार एक सय १७ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीएमा २४ हजार छ सय १७ जनाको ज्यान गएको छ भने सिरियामा चार हजार पाँच सय जना मारिएका छन् ।






