ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका(६ का केसिङ लिम्बु चिराइतोले राम्रो मूल्य पाउन थालेपछि उत्साहित हुनुभएको छ । कोरोनापछि घट्दो क्रममा रहेको चिराइतोको बजार मूल्य यसपटक भने बढ्न थालेको छ । त्यसैले यस सिजनमा थप जग्गा भाडामा लिएर भए पनि चिराइतो खेती गर्ने उहाँको योजना छ ।
लिम्बूले कुनै समय एकै सिजनमा ६५ मनसम्म चिराइतो बिक्री गर्नुहुन्थो । कुल एक सय ६८ रोपनी जग्गामा चिराइतो खेती विस्तार गर्नुभएका उहाँले यसबाट राम्रो आम्दानी पनि गरिरहनुभएको छ । “प्रतिमन रू २१ हजारका दरले एउटा सिजनमा ६५ मन चिराइतो बिक्रीबाट रू १३ लाख ६५ हजारसम्म आम्दानी गरे”, उहाँले भन्नुभयो ।
कोरोना महामारअघि ताप्लेजुङ, पाँचथर, इलाम, तेरथुम, सङ्खरसभा भोजपुरलगायत जिल्लामा उत्पादन भएको चिराइतो टिप्पताला नाका हँुदै चिनियाँ बजारमा निर्यात हुन्थ्यो । टिप्पताला नाकासम्म हेलिकोप्टरबाट चिराइतो ढुवानी हुन्थ्यो । कोरोना महामारीमा उक्त नाका बन्द भएपछि चिराइतोको कारोबार ठप्प बनेको हो ।
चार वर्षसम्म चिराइतोको बजार ठप्प भएसँगै लिम्बूले चिराइतो खेती नै छोड्नुभएको थियो । “चार वर्षपछि अहिले चिराइतोले राम्रो बजार मूल्य पाएको अवस्था छ”, व्यवसायी गोविन्द बरालले भन्नुभयो, “चार वर्षअघि प्रतिमन रू पाँच हजारमा झरेको चिराइतोको भाउ अहिले ३० हजारसम्म खरिदबिक्री भइरहेको छ ।” उहाँका अनुसार पछिल्लो समय भारतीय बजारमा चिराइतोको माग बढ्न थालेको छ ।
मूल्य बढेसँगै व्यवसायीहरु चिराइतो सङ्कलन गर्न गाउँ(गाउँ पुगन थालेका छन् । चिराइतो खोजी गर्दै गाउँ(गाउँमा व्यापारी आएसँगै लिम्बु जस्ता किसान फेरि चिराइतो खेतीमा फर्कन थालेका छन् । कोरोनाका कारण नाका बन्द हुँदा घरमै थन्क्याएर राखेको चिराइतो अहिले धमाधम बिक्री हुन थालेको छ ।






