चिकित्सक सङ्घको आन्दोलन स्थगित, छ बुँदे सहमति

  माघ २९, २०७९

नेपाल चिकित्सक सङ्घले आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ ।

सरकार र सङ्घबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको वार्तापछि छ बुँदे सहमति भएको र आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल स्थगित गरी आ–आफ्नो कार्य जिम्मेवारी सम्हाल्ने निर्णय भएको वार्ता टोलीमा सहभागी सङ्घका पूर्वअध्यक्ष डा मुक्तिराज श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

सङ्घ चिकित्सकमाथि भएको आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएको थियो । वार्तामा माघ २७ गते दिनको ४ः१५ बजे राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताल अगाडि विशिष्ट व्यक्तिको सवारी सुरक्षा व्यवस्थापन गर्ने क्रममा भएको घटनाबारे वार्ता टोलीबीच छलफल भएको र घटनामा घाइते हुनुभएका चिकित्सकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

सहमतिमा उक्त दिन घटेको घटनाको सम्बन्धमा सम्बन्धित सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरु भइसकेकाले समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने र घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने उल्लेख छ ।

वार्ता टोलीबीच विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेष गरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशिल संस्था तथा क्षेत्रहरुमा असहजता नहुने गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जनसम्बन्धमा नेपाल सरकार समक्ष एक हप्ताभित्र सुझाव पेश गर्ने र सरकारले उक्त सुझावहरुलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने पनि सहमति भएको छ ।

सहमतिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ९संशोधसहित० ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तथा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने उल्लेख छ ।

सहमतिपत्रमा नेपाल चिकित्सक सङ्घका अध्यक्षबाट अध्यक्ष डा लोचन कार्की र सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव डा। गणेशप्रसाद पाण्डेयले हस्ताक्षर गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया