दाताले उपलब्ध गराएको जग्गामा शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा खानेपानी आयोजना निर्माण अगाडि बढाइएको छ । रु १३ करोडको लागतमा खानेपानी आयोजना निर्माण अगाडि बढाइएको हो ।
शुक्लाफाँटा–९ वडाध्यक्ष रमेश ऐरका अनुसार पहिलो वर्ष खानेपानी आयोजनाको पर्खाल निर्माण गर्न र बोरिङ गाड्नका लागि रु १८–१८ लाख गरी रु ३६ लाख बजेटमा कार्य गरिएको छ । “पाँच वर्षभित्रै निर्माण पूरा हुने खानेपानी आयोजनाबाट छ सय ८० परिवारको घरमा शुद्ध पेयजल पु¥याउने लक्ष्यसहित कार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “पर्खाल निर्माण र बोरिङ गाड्ने कार्य पूरा भइसकेकाले ट्याङ्की निर्माणको काम सुरु गर्छौँ ।”
साठी हजार लिटरको खानेपानीको आधुनिक तरिकाले ट्याङ्की निर्माण हुने उहाँको भनाइ छ । खानेपानी आयोजनाको कार्य गुणस्तरीयरूपमा गर्नका लागि कटिबद्ध रहेको आयोजनाको उपभोक्ता समितिका अध्यक्ष श्यामबहादुर ऐरले बताउनुभयो ।
“ट्याङ्की निर्माणका लागि आवश्यक बजेट माग गर्छौँ”, उहाँले भन्नुभयो, “त्यसपछि पाइप लाइनको कार्य अगाडि बढाउँछौँ, पाइप लाइनको कार्य सकिएसँगै धारा जडानकार्य हुन्छ ।” उपभोक्ताको घर–घरमा र सार्वजनिक ठाउँमा धारा जडानकार्य हुने उहाँले बताउनुभयो । शुद्ध पेयजलको व्यवस्था नहुँदा वडाका बासिन्दाले हेण्डमम्पको असुरक्षित खानेपानी प्रयोग गर्दै आएका छन् ।






