उत्कृष्ट निबन्धकार पुरस्कृत

  माघ २८, २०७९

महोत्तरी,माघ २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास महोत्तरीले उत्कृष्ट निबन्धकारलाई पुरस्कृत गरेको छ । आयोगको ३२औँ स्थापना दिवसका अवसरमा बर्दिबास कार्यालयले अन्तरमाध्यमिक तहका विद्यार्थीबीच गराएको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयमा गराएको निबन्ध प्रतियोगिताका उत्कृष्ट प्रतियोगीलाई पुरस्कृत गरेको हो ।

प्रतियोगितामा मोनाष्टिक माध्यमिक विद्यालय जनकपुरधाम धनुषाका छात्र दिवेशकुमार महतो, सिद्धस्थली माध्यमिक विद्यालय कमलामाई–६ सिन्धुलीका दिवसकुमार थापा र ग्रीनलैण्ड माध्यमिक विद्यालय मलङ्वा सर्लाहीकी छात्रा मितालीकुमारी झा क्रमशः पहिलो, दोस्रा र तेस्रो हुनुभएको हो ।

आयोगका बर्दिबास कार्यालयका प्रमुख (सहसचिव) गोपालकुमार अधिकारीले प्रथमलाई रु १३ हजार, द्वितीयलाई १० हजार र त्रितीयलाई आठ हजार ५०० नगद पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिताले भ्रष्टाचारविरुद्ध सचेतना वृद्धिमा सहयोग पुग्ने आयोगले जनाएको छ ।

त्यसैगरी आजै ३२औँ स्थापना दिवसको अवसरमा आयोजित विभिन्न विधाका खेलमा उत्कृष्ट भएकालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । आयोगको ३२औँ स्थापना दिवसका अवसरमा बर्दिबास कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गर्नुभयो । स्थापना दिवस समारोह कार्यालय प्रमुख अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया