वन, वनस्पतिलगायत जैविक विविधताका दृष्टिकोणले समृद्ध मानिने चुरे शृङ्खलाबाट बग्ने नदीनालाको अत्यधिक दोहनले चुरे क्षेत्रको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । जथाभावी रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेपछि चुरे जोखिमा परेको हो ।
समुन्द्री सतहदेखि छ सय १० मिटरदेखि एक हजार आठ सय ७२ मिटरसम्मको भू–क्षेत्र चुरे क्षेत्र हो । नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको भू–भाग नै चुरे हो । चुरेले सातै प्रदेशका ३७ जिल्लाको १८ लाख ९६ हजार दुई सय ५१ हेक्टर ओगटेको छ ।
चुरे जैविक र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण र उपयोगी छ । हावापानी समशीतोष्ण भएकै कारण चुरेमा विभिन्न वन्यजन्तुका साथै साल, सिसौँ, खयर, अमला, हर्रो, बर्रोलगायत औषधिजन्य बिरुवा प्रशस्त पाइन्छन् । जैविक विविधता तथा प्राकृतिक सम्पदाले धनी मानिएको चुरे कमजोर भू–बनोटका कारण संवेदनशील क्षेत्रका रूपमा चिनिन्छ ।
बढ्दो जनघनत्वका कारण वन पैदावारमा अत्यधिक चाप बढेपछि चुरे क्षेत्रमा वन विनाश बढेको छ । क्षयीकरणले पर्यावरणीय समस्यासमेत देखिएको छ । सरकारले चुरे संरक्षणका लागि प्रत्येक वर्ष लाखौँ खर्च गर्ने गरे पनि वन, जङ्गल र खोला किनारमा अवैध रुपमा क्रसर उद्योग सञ्चालन गर्दा यसको संरक्षणमा चुनौतीपूर्ण बनेको छ । धनुषा र महोत्तरीको सिमानामा पर्ने रातु खोला वरिपरि मात्र पाँच क्रसर उद्योग अवैधरूपमा सञ्चालित छन् ।
सरोकारवाला निकाय यसलाई रोक्न गम्भीर नेदेखिँदा वन विनाश अत्यधिक बढेको छ । क्रसर उद्योग सञ्चालकले नदी खोलाबाट जथाभावी ढुङ्गा, बालुवा र गिट्टी उत्खनन गर्दा तटबन्धसमेत जोखिममा छन् । किसाननगरकी रीता भट्टराई जथाभावी बालुवा झिक्दा तटबन्ध भत्किने खतरा बढेको बताउनुहुन्छ ।
घरेलु तथा साना उद्योग कार्यालयले क्रसर उद्योग सञ्चालन गर्दा तोकेको मापदण्डअनुसार खोला किनार तथा राजमार्गदेखि पाँच सय मिटर टाढा हुनुपर्ने, शिक्षण संस्था, स्वास्थ्य संस्था, सांस्कृतिक पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज, आरक्ष र घनाबस्तीदेखि दुई सय मिटर तथा चुरे क्षेत्रदेखि एक किलोमिटर टाढा हुनुपर्ने व्यवस्था गरेको छ । तर सो मापदण्ड पूरा नगरी क्रसर उद्योग सञ्चालनमा छन् । घरेलु तथा साना उद्योग कार्यालयले त्यसतर्फ चासो नदिँदा समस्या भएको स्थानीयवासीको गुनासो छ ।






