गुर्जा जोड्ने सडक निर्माण सुरु

  माघ २७, २०७९

म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जामा सडक पु¥याइने भएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा जिल्लाका छ स्थानीय तहका ४५ मध्ये सडक नपुगेको एक मात्र वडा हो ।

भौगोलिक हिसाबले दुर्गम र विकट क्षेत्रमा पर्ने लुकेको बस्ती ‘हिडन भ्याली’ का रुपमा चिनिइएको छ । धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको बजेटमा वडा नं २ मा पर्ने लमसुङदेखि लुलाङ हुँदै गुर्जा जोड्ने सडक निर्माण थालिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले गण्डकी प्रदेश सरकारको रु ८० लाख र पालिकाको रु ४५ लाख बजेटबाट सडक निर्माण सुरु गरिएको जानकारी दिनुभयो । “गुर्जालाई सडक सञ्जालले जोड्ने हाम्रो पालिकाको गौरवको आयोजना हो,” उहाँले भन्नुभयो “यस वर्ष लमसुङदेखि लुलाङभन्दा माथिसम्म सडक पु¥याउने लक्ष्य छ । सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरेर यो योजनालाई निरन्तरता दिन्छौँ ।”

मुना–लुलाङ–गुर्जा सडकलाई कर्णाली प्रदेशको डोल्पाको सदरमुकाम दुनै जोड्ने छोटो मार्ग बनाउन प्रदेश र सङ्घीय सरकारलाई प्रस्ताव गरेको उपाध्यक्ष पुनले बताउनुभयो । गत वर्ष गाउँपालिकाले लुलाङदेखि गुर्जा जोड्ने १० किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन बनाएको थियो ।

गुर्जाका वडाध्यक्ष झक छन्त्यालले लुलाङ र गुर्जा जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार पारिए पनि महँगो लागत जुटाउन नसकेपछि सडक निर्माण योजनालाई अघि बढाइएको बताउनुभयो । दुई सय ५० घरधुरीको बसोबास रहेको गुर्जा पुग्न लुलाङदेखि तीन हजार पाँच सय मिटर उचाइको देउराली धुरी काटेर भिर, जङ्गल र खोल्साको बाटोमा पूरै दिन पैदलयात्रा गर्नुपर्छ । बाटोमा कतै पनि बस्ती छैन । सडक सुविधा नहुँदा आवतजावतका लागि पैदलयात्रा, ढुवानीमा घोडा खच्चर र बिरामी हुँदा अस्पताल पुग्न हेलिकप्टर चढ्नुपर्ने बाध्यता छ ।

तपाईको प्रतिक्रिया