सुकेका रूखमुनि जोखिमपूर्ण बसाइ

  माघ २७, २०७९

कैलालीको टीकापुर बहुमुखी क्याम्पससँग तीन सय ८० बिघा जग्गा छ । विसं २०५८ मा स्थापना गरिएको क्याम्पसलाई तत्कालीन टीकापुर नगर विकास समितिले उक्त जग्गा उपलब्ध गराएको थियो । उपलब्ध गराएको जग्गामध्ये क्याम्पसले ८० बिघा जग्गा मात्रै प्रयोग गर्न पाएको छ भने बाँकी जग्गा वर्षौंदेखि अतिक्रमणमा छ ।

अतिक्रमणमा परेको जग्गा त्यतिबेला जङ्गल नै थियो । अहिले पनि सालका र असनाका रूख त्यो क्षेत्रमा छन् । त्यहाँ भएका रूखमध्ये अधिकांश सुकेका छन् । कैयौँ रूख सुकेर त्यहीँ ढलेका छन् भने कैयौँ त्यस्ता रूख रातारात त्यहाँबाट गायब हुने पनि गरेका छन् । क्याम्पसको जग्गा अतिक्रमण गरेर सयौँ घर निर्माण भएका छन् । रूखका फेदमा निर्माण भएका घर निकै असुरक्षित छन् ।

“गर्मीयाममा हाम्रो जनजीवन निकै त्रासमा हुन्छ, सुकेका रूखका फेदमा टिनका छाप्रामा कतिबेला के हुन्छ थाहै हुँदैन”, स्थानीयवासी रणबहादुर विकले भन्नुभयो, “बर्सेनि सुकेका रूख हावाहुरीसँगै खस्दा कैयौँले ज्यान गुमाउनु परेको छ, कैयौँ विस्थापित हुनुपरेको छ ।”

उहाँले सरकारलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि पटकपटक हारगुहार गर्दा पनि सुनुवाइ नभएको बताउनुभयो । सुकेका रुखलाई समयमा व्यवस्थापन गर्न सके आफूहरु सुरक्षित हुने उहाँ बताउनुहुन्छ ।

सोही शिविरमा बस्दै आउनुभएका वीरबहादुर चौधरीले ज्यान हत्केलामा राखेर दिन बिताउनुपरेको बताउनुभयो । उहाँले बर्सातको समयमा हुने किरा फट्याङ्ग्राको जोखिम, हिउँदमा शीतलहरको जोखिम, गर्मी मौसममा हावाहुरीको जोखिम शिविरका नागरिकका लागि सधैँ महँगो पर्दै गएको बताउनुभयो ।

“यो ठाउँ छाडेर अन्त कतै जानलाई जाने ठाउँ छैन, यतै बस्दा ज्यान सुरक्षित छैन, राज्य हाम्रा कुरा सुन्दैन”, वीरबहादुर भन्नुहुन्छ । क्याम्पसले सङ्कलन गरेकै काठ बिक्रीका लागि अनुमति नपाएपछि काठ सङ्कलनको कामलाई छाडेको छ । केही वर्षपहिले सङ्कलन गरेको करिब दुई हजार पाँच सय क्युफिट काठ बिक्रीका लागि अनुमति नपाएपछि बिग्रन थालेको छ ।

“सङ्कलन भएको काठ बिक्रीका लागि वन मन्त्रालयसँग पटकपटक अख्तियारी माग्दा पनि अख्तियारी दिएको छैन, काठ बिग्रँदै गएको छ”, क्याम्पसप्रमुख केशरबहादुर कुँवरले भन्नुभयो, “बिक्री गर्न नपाएपछि सङ्कलन मात्रै गरेर के गर्ने भनेर सङ्कलन गर्न पनि छाडेका हौँ, अख्तियारी नदिएर सालको काठ बिक्री गर्न पाइँदैन ।”

तपाईको प्रतिक्रिया