कञ्चनपुरमा दुई वर्षपछि औद्योगिक व्यापार मेला

  माघ २५, २०७९

दोधारा चाँदनी, माघ २५ : कञ्चनपुरमा दुई वर्षपछि औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव हुने भएको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको कञ्चनपुर औद्योगिक व्यापार मेला फागुन १ गतेदेखि महेन्द्रनगरस्थित खुलामञ्चमा हुने भएको हो ।

‘कृषि उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ कञ्चनपुर उद्योग वाणिज्य सङ्घले १४औँ संस्करणको सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला गर्न लागेको सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले जानकारी दिनुभयो ।

मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम तय भएको छ । “प्रधानमन्त्रीज्यूले मेलाको उद्घाटनसँगै यहाँका राष्ट्रिय गौरवका आयोजनाको अवलोकन गर्ने कार्यक्रम पनि छ”, वरिष्ठ उपाध्यक्ष मल्लले भन्नुभयो, “हामीले सुक्खा बन्दरगाह निर्माण, मझगाउँ विमानस्थल र दैजीछेला औद्योगिक क्षेत्रको छिटो सञ्चालनको माग राखेका छाँै ।” मेलाले यस क्षेत्रको आर्थिक गतिविधि बढाउनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

सङ्घका अध्यक्ष पिताम्बर जोशीले मेलामा स्थानीय वस्तु तथा सेवा, पर्यटन, कलाको प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताउनुभयो । “मेलामा लघुउद्यम, अटो प्रदर्शनी, कृषि गार्मेन्ट, बाल उद्यानसहित सुदूरपश्चिम झल्किने लोकसंस्कृति प्रस्तुत गरिनेछ”, उहाँले भन्नुभयो, “कोरोनाका कारण थलिएको व्यापार मेलाले चलायमान हुने आशा गरेका छाँै ।” फागुन १ देखि १० गतेसम्म सञ्चालन हुने मेलामा यहाँको स्थानीय उत्पादन र स्थानीय कला, साहित्यको प्रवर्द्धनमा जोड दिने सङ्घले जनाएको छ ।

मेलामा विभिन्न कला, संस्कृति, उद्यम व्यवसायीलगायतका तीन सय स्टल रहने छन् । मेलाको प्रतिटिकटबाट रु एक छुट्याएर समाजिक काममा लगाउने सङ्घले जनाएको छ ।

महोत्सवबाट यस क्षेत्रको औद्योगिक, आर्थिक क्षेत्रको प्रवर्द्धन हुनुका साथै छिमेकी मुलुकबाट पनि मेला अवलोकन गर्न आउने अपेक्षा राखिएको छ । मेला अवलोकनका लागि सर्वसाधारणका लागि रु ८० र विद्यार्थी सहुलियत रु ४० तोकिएको छ ।

तपाईको प्रतिक्रिया