शहीद स्मृति विद्यालयलाई भौतिक पूर्वाधार अभाव

  माघ २५, २०७९

रोल्पा सुनछहारीका पर्शुराम रोका सात महिनाको हुँदा बुबा शहीद हुनुभयो । बुबा शहीद भएपछि टुहुरो हुनुभएका पर्शुरामलाई आमाले जसोतसो गाउँमै कक्षा ८ सम्म पढाउनुभयो । पर्शुरामलाई दाङको तुलसीपुर १७ बनकट्टामा रहेको शहीद स्मृति आवासीय माविले द्वन्द्वपीडितका छोराछोरीलाई पढाउँछ भन्ने थाहा थिएन ।

तुलसीपुरमा रहेकी काकीले विद्यालयका बारेमा थाहा पाएपछि उहाँ कक्षा ९ मा पढ्न आउनुभयो । “मलाई यो विद्यालयका बारेमा थाहा थिएन, यहाँ बस्ने काकीले भनेपछि मात्रै थाहा भयो र यहाँ आएँ”, उहाँले भन्नुभयो, “मैले रोल्पाबाटै कक्षा ८ पास गरे पनि यहाँ अङ्ग्रेजी माध्यम भएकाले पुनः ८ मा नै भर्ना भएर पढेँ ।” यहाँ आएपछि बुबा, आमाको माया पाएजस्तो अनुभूति भएको उहाँले बताउनुभयो । शिक्षकहरुलाई बुबा जस्तै, खाना पकाउने अन्टीलाई आमा, बुवा जस्तै र त्यहाँ पढ्ने विद्यार्थीहरुलाई दाजुभाइ जस्तै लाग्ने गरेको उहाँ बताउनुहुन्छ । “बुबा भनेको बुबा नै हो, बुबाको जस्तो माया त कहाँ पाइन्छ होला र रु”, उहाँले भन्नुभयो, “तर, यहाँ पाएपछि बुबाआमाको माया पाएजस्तै भएको छ, दाजुभाइसँग भेट भएको महसुस भएको छ ।” यहाँ सबै शहीद, बेपत्ता, घाइतेहरुका छोराछोरी भेट्दा मनका कुरा हुन्छन्, खुसी लाग्ने गरेको उहाँले बताउनुभयो । उहाँ अहिले त्यो विद्यालयमा कक्षा १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत हुनुहुन्छ । त्यस्तै सोही विद्यालयमा कक्षा १२ मा अध्ययनर अञ्जना दहितले पनि विद्यालयमा विभिन्न १६ जिल्लाका द्वन्द्वपीडित अध्ययनरत विद्यार्थीहरुबीच भावना साटासाट हुने गरेको बताउनुभयो । “पढाइ त छँदैछ, यो विद्यालय हाम्रो भावना साट्ने थलो बनेको छ”, उहाँले भन्नुभयो, “सबैका मनका कुरा सुन्दा खुसी लाग्छ ।” कोही शहीद परिवारका हुनुहुन्छ, कोही बेपत्ता त, कोही अपाङ्ग, घाइते परिवारका हुनुहुन्छ । उहाँहरु, हामीहरुबीच कुरा हुँदा मन हल्का हुन्छ । भावना साटासाट हुन्छ, यसले हामीलाई सुखद अनुभूति गराउँछ ।अञ्जु विज्ञान विषय पढिरहनुभएको छ । उहाँका बुबा तीन÷चार वर्ष जनयुद्धका क्रममा जेलजीवन बिताएका थिए । उहाँहरु जस्तै अहिले विद्यालयमा चार सय १८ द्वन्द्वपीडित आवासीय विद्यार्थीहरु अध्ययनरत हुनुहुन्छ । द्वन्द्वपीडित परिवारका विद्यार्थीहरुले उच्च शिक्षा पढ्ने वातावरण मिलाउनुपर्ने बताएका छन् । सरकारले कक्षा १२ सम्म पढ्ने निःशुल्क पठनपाठनको व्यवस्था गरेको भए पनि त्योभन्दा माथिल्लो शिक्षा पढ्न नपााउँदा धेरै द्वन्द्वपीडित विद्यार्थीहरु पढाइ छोड्ने गरेको भन्दै त्योभन्दा माथिल्लो शिक्षा पनि निःशुल्क गराउनुपर्ने विद्यार्थीहरुको माग छ ।

“सरकारले १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था त गरेको छ”, विद्यार्थी पर्शुराम पुनले भन्नुभयो, “त्यतिले मात्रै हुँदैन, हाम्रा अभिभावक हुनुहुँदैन, हामीलाई माथिल्लो शिक्षा कस्ले दिन्छ, त्यसैले हामीलाई निःशुल्क शिक्षाको व्यवस्थापन गर्नुपर्छ ।” साथै उहाँले अभिभावक भनेको पार्टी पनि रहेको भन्दै पार्टी विभाजनले आफूहरु जस्ता शहीद परिवारहरुलाई दुःखी बनाएको बताउनुभयो । माओवादी टुटफुट हुँदा शहीदका सपनाहरु अझै पूरा हुन नसकेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया