ऐतिहासिक कान्द्राङगढीको पुनःनिर्माण गरिँदै

  माघ २५, २०७९

चितवनको ऐतिहासिक किल्ला कान्द्राङगढीको पुनःनिर्माण गरिने भएको छ । संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको गढीको पुरातत्व विभागले पुनःनिर्माण गर्न लागेको हो ।

विभागले गढीको विस्तृत अध्ययनपश्चात् पुनःनिर्माणका लागि रु ५० लाख बजेट विनियोजन गरेर ठेक्का आह्वान गरिसकेको छ । चितवन र धादिङको सीमा क्षेत्रमा रहेको यो गढी राप्ती नगरपालिका–१३ मा पर्छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गढीमा पर्खाल निर्माण, मर्मत र उत्खननका काम हुनेछन् । त्यहाँ भएका संरचनालाई संरक्षण गर्दै व्यवस्थित गर्ने काम गरिने उहाँले बताउनुभयो ।

“गढीमा भग्नावशेष संरचना पुरानै आकारमा छन्, त्यसलाई जुन वस्तुशैलीमा छन् त्यस्तै बनाउँछौँ”, उहाँले भन्नुभयो । गढीमा निर्माण गरिने संरचना वस्तु शैलीमा ढुङ्गा र माटोको जोडाइको हुने अधिकृत लम्सालले बताउनुभयो । गढीको संरक्षणका लागि नगरपालिकाले सडक निर्माण र अन्य व्यवस्थापनका काम गर्ने उहाँले जानकारी दिनुभयो ।

“प्रारम्भिक कामका रुपमा जीर्णोद्धार हुन्छ”, उहाँले भन्नुभयो, “त्यसपछि आवश्यकताका आधारमा अन्य संरचना निर्माण गरिनेछ ।” ऐतिहासिक किल्ला भएका कारण यसको संरक्षणमा नगरपालिकाले प्राथमिकता दिएको उहाँको भनाइ छ । “पछिल्लो समय पनि जनप्रतिनिधिसहित स्थलगत रुपमा निरीक्षण ग¥यौँ, यहाँ पर्यटनको प्रचुर सम्भावना छ”, उहाँले भन्नुभयो ।

कान्द्राङगढीमा सेन कालीन समयमा निर्माण गएिको र त्यतिबेला राज्यको सुरक्षाका लागि बनाइएका संरचना छन् । लिखित रुपमा ऐतिहासिक तथ्य नभए पनि वस्तुशैली हेर्दा पृथ्वीनारायण शाहले विभिन्न राज्य आक्रमण गर्दा चितवन र मकवानपुर निस्कने नाकाका रुपमा यस गढीलाई प्रयोग गरेको स्थानीयवासी बताउँछन् ।

तपाईको प्रतिक्रिया