बागलुङस्थित धवलागिरि साहित्य प्रतिष्ठानले तीन साहित्य स्रष्टालाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले विसं २०७८ को ‘काजी रोशन साहित्य पुरस्कार’ सुनसरीका लेखक टीका मिलनलाई प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कारका लागि देशभरबाट प्राप्त कृतिमध्ये निरुपण मण्डलले उहाँको उपन्यास कृति ‘पटाक्षेप’लाई छनोट गरेको थियो । हरेक दुई वर्षमा राष्ट्रियस्तरमा प्रदान गरिने उक्त पुरस्कारको राशि रु २० हजार छ । प्रतिष्ठानले १६औँ पटकमा उपन्यासकार मिलनलाई सो पुरस्कार प्रदान गर्न लागेको हो । यसअघि उक्त पुरस्कार काठमाडौँका लेखक बाजुराम पौडेल, तनहुँका काशिनाथ न्यौपाने, उदयपुरका मातृका पोखरेललगायतले पाइसक्नुभयो ।
यस्तै प्रतिष्ठानमा स्थापित ‘बम–सरस्वती स्मृति पुरस्कार’ यस वर्ष कपिलवस्तुका स्रष्टा सकुन्तला शर्मा पौडेललाई प्रदान गरिने भएको छ । उक्त बागलुङ, मूलपानी घर भई हाल बेल्जियममा रहनुभएका कवि दीपेन्द्र केसीले हजुरबुबा र हजुरआमाको स्मृतिमा सो पुरस्कार स्थापना गर्नुभएको हो ।
उक्त पुरस्कार यसअघि नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठ, पाल्पाका पुष्कर ‘अथक’ रेग्मीलगायतले पाइसक्नुभएको छ । प्रतिष्ठानबाट पहिलोपटक प्रदान गर्न लागिएको ‘हिमलाल–मन्सरा स्मृति पुरस्कार’बाट बागलुङ, बेलवाका स्रष्टा तुलसी पौडेल पुरस्कृत हुनुहुने प्रतिष्ठानले जनाएको छ ।