फूलपाती विसर्जन गरी समापन गरियो स्वस्थानी व्रत

  माघ २३, २०७९

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आइतबार रातभर जाग्राम बसी आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरेर समापन भएको छ ।

पौष शुक्ल पूर्णिमादेखि नै सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने क्रम पनि आइतबार बेलुकी नै समापन गरी वर्तालु रातभर जाग्राम बसेका थिए ।

जाग्रामपछि आज बिहान एक महिनासम्म स्वस्थानी देवीलाई चढाइएको फूलपाती नजिकको नदी, ताल, तलाउ वा पोखरीमा लगी सेलाउने व्रत विधि छ ।

विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आइतबार एक सय आठ जनै, एक सय आठ सुपारी, एक सय आठ पान, एक सय आठ पmूल, एक सय आठ रोटी, एक सय आठ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।

चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ ।

आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया