बाँकेको राप्ती सोनारी गाउँपालिकामा आयोजित सातौँ थारू राष्ट्रिय साहित्य सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सम्मेलनले थारू साहित्यमा युवाको आकर्षण बढाउन, सिर्जनात्मक लेखनको खोजी, थारू मानक भाषा लेखन, संस्कृतिको वेषभूषाबारे अन्तत्र्रिmया गरी इतिहास अभिलेख गर्न जोड दिएको छ । प्रत्येक वर्ष आयोजना गरिने राष्ट्रिय थारू साहित्य सम्मेलनले एक किसिमको जागरण ल्याउने काम गरिरहेको आयोजक थारू लेखक सङ्घका अध्यक्ष डा कृष्णराज सर्वाहारीले जानकारी दिनुभयो ।
एक दशकअघि प्रकाशन भएका थारू भाषाका पुस्तक र पछिल्लो समय प्रकाशन भइरहेका पुस्तकमा भाषा लेखनमा सुधार आइरहेको उल्लेख गर्दै उहाँले देशको जुनसुकै कुनामा थारू साहित्य सम्मेलन गरिए पनि त्यहाँका युवा साहित्यकारलाई सशक्त बनाउनुका साथै भाषिक जागरण ल्याउने काम गरिरहेको जिकिर गर्नुभयो ।
उहाँका अनुसार सम्मेलनमा थारू भाषा, साहित्य, संस्कृति उन्नयनका लागि थारू साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरू एकजुट भएर सहकार्य गर्नेलगायतका १२ बुँदे घोषणापत्र जारी गरिएको छ । थारू राष्ट्रिय साहित्य सम्मेलनमा साहित्यमात्रै नभई विकास र जनजीविकाको अवस्थाको बारेमा बहस भएको थियो ।
थारू समुदायको कला संस्कृतिको खोज, अनुसन्धान तथा इतिहासबारे दस्तावेजीकरण गर्ने उद्देश्यले थारू लेखक सङ्घले प्रत्येक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय सम्मेलनले विस्तारै मूर्तरुप लिँदै गएको थारू लेखक सङ्घका केन्द्रीय सदस्य शेखर दहितले बताउनुभयो ।
सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलनमा छवटा विविध विषयमा छलफल, बहस गरिएको थियो । राप्ती सोनारीको विकासका लागि प्राथमिकता, आदिवासी भाषा दशक र बाँकेको मातृभाषा विकासमा वरघर, होमस्टेमा थारू समुदाय, आख्यानमा थारू, बाँकेमा थारू साहित्यको अवस्था, थारू साहित्यमा युवा र सिकलसेल एनिमियाको कहरः जनस्वास्थ्यमा प्रतिकूल असरबारे विषयगत सम्बन्धित व्यक्तित्वलाई समूह बनाएर घनिभूत छलफल गरिएको थियो ।






