भ्रष्टाचारविरुद्ध कलम चलाउनुहोस् : मन्त्री गिरी

  माघ २२, २०७९

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पत्रकारलाई भ्रष्टाचारविरुद्ध कलम चलाउन आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपालको २५औँं स्थापना दिवसको अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो “तपाईंहरुको कलम भ्रष्टाचार विरुद्धमा बम र बाढी हुन सक्ने गरी चलाउनुहोस् ।”

अहिले मुलुकको एउटै मुद्दा आर्थिक समृद्धिको भएको भन्दै उहाँले आर्थिक समृद्धिको बाटोमा लिएर जाने र गरिबीको अन्त्य गर्ने जिम्मेवारी आएको बताउनुभयो । देशलाई समृद्धिको बाटोमा हिँडाउन र गरिबी अन्त्यको बाधक बनेको भ्रष्टाचारको पर्खाल हटाउन जरुरी रहेको बताउनुभयो ।

“भ्रष्टाचारको पर्खाल तोड्ने, मुलुकलाई सुशासन दिने बाटोमा अघि बढाएर लिएर जानुपर्ने छ”, उहाँले भन्नुभयो, “विकास र समृद्धिका निम्ती उत्पादनका क्षेत्रमा विकास गरेर अघि बढ्नुपर्ने समय आएको छ ।” देशमा राजनीतिक रुपमा धेरै ठूला परिवर्तन भएको भन्दै मन्त्री गिरीले परिवर्तनअनुसार पत्रकारका कलम चल्नुपर्ने बताउनुभयो ।

परिवर्तनको पक्षमा हिम्मत र आँट गरेर कलम चलाउन पत्रकारलाई आग्रह गर्दै उहाँले पत्रकारले आफ्नो समाचारप्रति जवाफदेही हुँदै समाजलाई सुधारको बाटोमा लैजानुपर्ने बताउनुभयो । सरकारले गरेका काममा नियमित खबरदारी गर्दै सही बाटोमा हिँडाउने जिम्मेवारी पत्रकारमा रहेको उहाँको भनाइ छ । नेपालको पत्रकारिता क्षेत्रले छोटो समयमा धेरै प्रगति गरेको भन्दै यसलाई बचाइ राख्न पत्रकारलाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया