शुन्य समयमा सांसदले उठाए मल, बीउ र सडक निर्माणको समस्या

  माघ २२, २०७९

आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई मलखाद, बीउबिजनको सहज उपलब्धता, सडक निर्माण र भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

शून्य समयमा सांसद देवप्रसाद तिमिल्सिनाले पटकपटक किसानको समस्या नसुनेकोप्रति ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले किसानको पीडा नसुनेको बताउनुभयो ।

सांसद वासुदेव घिमिरेले कृृषिको आधुनिकीकरणका लागि कृषसँग सम्बन्धित रहेको मलखादको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले मलखाद र बीउबिजनका लागि स्वदेशमै कलकारखाना निर्माण गर्नुपर्ने बताउनुभयो ।

सांसद तारा लामा तामाङले सिमानामा हुने अनियमितता र हिंसा रोक्न ध्यानाकर्षण गराउनुभयो । कञ्चनपुरको बेलौरीमा बन्द अवस्थामा रहेको छोटी भन्सारलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन ध्यानाकर्षण गर्नुभयो । उहाँले सिमानामा हुने हिंसा र अनियमतिता रोक्न ध्यानाकर्षण गराउनुभयो ।

तेजुलाल चौधरीले थारु आन्दोलन र थारु समुदायको भावनामाथि दमन गर्न काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दामोदर पौडेलेले फेवा तालको सिमाङ्कनको प्रतिवेदनको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सांसद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र रुटको इजातजप्रति ध्यानाकर्षण गराउनुभयो । उहाँले मिर्गौला बिरामीका लागि डाइलासिस सेवा प्रभावकारी बनाउन पोखरामा डाइलासिस सेवा केन्द्र निर्माण गर्न ध्यानाकर्षण गराउनुभयो ।

सांसद दीपक खड्का सङ्खुवासभा जिल्लामा हुने विद्युत् उत्पादनको करिब सात लाखको शेयर सस्तो ब्याजदरमा स्थानीयलाई उपलब्ध गराउन ध्यानाकर्षण गर्नुभयो ।

सांसद दीपा शर्माले बाँकेमा निर्माणाधीन औद्योगिक क्षेत्रलाई तीव्र गति दिनुपर्ने बताउनुभयो ।

सांसद दुर्गा राईले भोजपुर जिल्लाको सडानन्द नगरपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाले स्थानीयलाई अन्याय गरेको बताउनुभयो । उहाँले जथाभावी सुरुङ खन्दा बस्ती नै जोखिममा परेकोप्रति ध्यानाकर्षण गराउनुभयो ।

सांसद धवलशमशेर राणाले नेपालगञ्जबाट भारतको विभिन्न क्षेत्रमा हुने हवाई उडानको व्यवस्था मिलाउन ध्यानाकर्षण गर्नुभयो । सांसद नारायणी शर्माले दाङ जिल्लाको सडक निर्माण अस्तव्यस्त हुँदा एक सय नौ जनाको मृत्युको भएको बताउनुभयो । उहाँले सडक निर्माण गर्न ध्यानाकर्षण गर्नुभयो ।

तपाईको प्रतिक्रिया