बढ्दो आधुनिकता र सहरीकरणका कारण पछिल्लो समयमा यहाँका मौलिक संस्कृति विस्तारै हराउन थालेका छन् । भाषा, साहित्य, कला र संस्कृतिले सम्पन्न कर्णाली विगतको परम्परा आज लोपोन्मुख अवस्थामा पुगेको छ । यसको संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धन हुन नसक्दा पाको पुस्ता चिन्तामा छ ।
मौलिकता गुमनाम हुँदै जाँदासमेत नवपुस्ता कसैले पनि त्यति धेरै चिन्ता गरेको पाइँदैन । अनुशरण गर्नलायक विरासत बोकेका संस्कृति संरक्षणमा गर्नुपर्ने विषयमा सरोकारवालाहरू बेखबरजस्तै देखिन्छन् । आजभोलि आधुनिकताले गाउँलाई पनि छोएको छ । स्थानीयवासीको छाना, बाना र खाना सबै परिवर्तन हुँदै गएको पाइन्छ । मुलतः पश्चिमा संस्कृतिको प्रभाव गाउँसमेत परेको छ ।
हिजोका मौलिक परम्परा, संस्कार, संस्कृति हराउँदै जान थालेपछि यतिबेला मुगाली महिलाहरू कर्णालीको सांस्कृतिक परम्परा जगेर्ना गर्नतर्फ लागेका छन् । छायाँनाथ रारा नगरपालिका–१२ मुगुका स्थानीय महिलाले शनिबार बीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको कर्णाली प्रदेशसभाको पाँचौँ स्थापना दिवसका अवसरमा आफ्ना परम्परागत पहिरनबाट मञ्चमै सन्देशमूलक गीत प्रस्तुत गरे ।
जनताले मत दिएर पठाइसकेपछि त्यसलाई शिरोपर गर्दै उनीहरूकै हितमा लाग्न प्रदेशसभा सदस्यहरूलाई गीतमार्फत उनीहरूले सुझाव दिए । मुगुबाट कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगरमा आएर ती महिलाहरूले दिएको सन्देशले प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा, सभामुख नन्दा गुरुङलगायत दलका नेता, मन्त्री, प्रदेशसभा सदस्य, प्रमुख सचिव तथा विभिन्न मन्त्रालयका सचिवलगायत सबैलाई प्रभावित बनाएको थियो ।
छायाँनाथ रारा नगरपालिका–१२ मुगुका स्थानीय झरना बुढाले आधुनिक कपडा लगाउने र आफ्नो पहिचान एवं संस्कृति बिर्सनेलाई परम्परागत पहिरनमा देउडा गीत प्रस्तुत गरेर खस इतिहासको स्मरण गराइएको बताउनुभयो । बुढाका अनुसार गर्विलो इतिहास बोकेको खस संस्कृति तथा सभ्यताको जगेर्ना गर्ने मनसायले कर्णालीको परम्परागत पहिरन सार्वजनिक गरिएको हो ।
सोही वडाका सुनक्यौडा बुढाले डौठो, चोलो, घाँगरो, पटुका, जाल्या, चन्द्रमा, नानी माला, ठूली माला, चाप्की, फुर्को, बाला र हात्या छाप लगाएर सांस्कृतिक प्रस्तुति पस्केको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरन हाम्रो सम्पत्ति, पहिचान र इतिहास हो । यसले हाम्रो भाषा, संस्कृति, भेषभूषा र जीवनशैलीका बारेमा प्रष्ट पार्दछ । यो हाम्रो अस्तित्व र जीवन इतिहाससँग जोडिएको छ ।”






