दक्षिण कोरियामा आयातित कारको बिक्रीमा कमी

  माघ २०, २०७९

सियोल, माघ २० : दक्षिण कोरियाको आयातित कारको बिक्रीमा कमी आएको छ । गत महिना कोरियाली नयाँ बर्षको बिदाका कारण व्यापारमा कमी आउँदा बिक्री एकल अङ्कले घटेको कार उद्योगको तथ्याङ्कले देखाएको छ ।

कोरिया अटोमोबाइल इम्पोर्टर्स एन्ड डिस्ट्रिब्युटर्स एशोसिएशन (काइडा) का अनुसार जनवरीमा यहाँ आयातित सवारी साधनको सङ्ख्या १६ हजार दुई सय २२ रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ६.६ प्रतिशतले कम हो ।

जर्मन कार उत्पादक कम्पनी बीएमडब्ल्यूले गत महिना छ हजार ८९ कार बिक्री गरेर विदेशी कम्पनीहरूमध्ये कार बिक्रीको आधारमा यहाँ पहिलो स्थानमा रहेको थियो ।

जर्मनीको अर्को कार निर्माता मर्सिडीज बेन्जले दुई हजार नौसय युनिट, अउडीले दुई हजार चार सय ५४ युनिट, भोल्भोले एक हजार सात युनिट र पोर्शले सात सय २६ युनिट कार स्थानीय बजारमा बिक्री गरेका छन् ।

जनवरीमा यहाँ बिक्री हुने युरोपेली मोडेलहरूको सङ्ख्या १४ हजार तीन सय २८ थियो, जुन कूल बिक्रीको ८८.३ प्रतिशत हो । अमेरिकी र जापानी ब्रान्डको बजार हिस्सा ६.१ प्रतिशत र ५.६ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया