भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सुधार

  माघ १७, २०७९

नेपालले भ्रष्टाचार अवधारणा सूचकाङ्क सिपीआईमा एकैपटक सात स्थानको सुधार हासिल गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टमा नेपाल ३४ अङ्क प्राप्त गर्दै एक सय १०औँ स्थानमा उक्लिएको हो । सन् २०२१ मा नेपाल ३३ अङ्कसहित एक सय १७औँ स्थानमा थियो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज यहाँ आयोजित एक कार्यक्रममार्फत् भ्रष्टाचारसम्बन्धी अवधारणा सूचकाङ्कमा विश्व र नेपालको अवस्थाबारे जानकारी गराएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष पद्मिनी प्रधानाङ्ग, महासचिव मदनकृष्ण शर्मा, कोषाध्यक्ष सुनिता गुरुङ लगायतको सहभागिता थियो । यो वर्ष नेपालको अवस्था सुधार हुनुमा आयात निर्यातमा भएको कमी प्रमुख कारण भएको संस्थाका अध्यक्ष प्रधानाङ्गको भनाइ छ ।

“सन् २०२२ मा आयात निर्यात अघिल्लो वर्षभन्दा घटेको देखिएको छ । आयात र निर्यातसँगै भ्रष्टाचार कम हुँदा वल्र्ड इकोनोमिक फोरमको सर्वेक्षणमा नेपालले धेरै अङ्क प्राप्त गरेको छ”, उहाँले प्रधानाङ्गले भन्नुभयो ।

विश्वका एक सय ८० देशमध्ये डेनमार्क ९० अङ्कसहित पहिलो स्थानमा छ भने सोमालिया १२ अङ्कसहित अन्तिम स्थानमा छ । कुल देशमध्ये ५८ वटा देशले ५० भन्दा धेरै अङ्क प्राप्त गरेका छन् ।

नेपालमा भ्रष्टाचारसम्बन्धी अवधारणाको सर्वेक्षण विभिन्न छ वटा अन्तर्राष्ट्रिय संस्थाले गरेका थिए । सर्वेक्षण गरेका ती संस्थामध्ये नेपाललाई विश्व बैंकले सरकारद्वारा सार्वजनिक पदाधिकारीको काम कारबाहीको निगरानी, राज्यको सूचनामा नागरिक समाजको पुहँच र राज्य सञ्चालनमा सीमित व्यक्तिको पहँुचलाई आधार बनाएको थियो । जसमा विश्व बैंकले नेपाललाई ३५ अङ्क दिएको छ ।

त्यस्तै, वल्र्ड इकोनोमिक फोरमले आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्यायिक निर्णयलाई आधार बनाएको थियो । यसमा नेपालले ४ अङ्कको सुधार हासिल गर्दै ३८ अङ्क प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया