मौरी चरनका लागि ललितपुरको धापाखेलबाट बाग्लुङको कुँडुले फाँट आउनुभएका धर्मराज श्रेष्ठले एक हप्तामा तीन लाख बढीको मह उत्पादन गर्नुभयो । एक सय मौरीका घारसहित चरनका लागि आउनु भएका उहाँले तीन सय केजी मह उत्पादन गरेको बताउनुभयो । “मह प्रतिकेजी रू एक हजार दुई सयकादरले तीन लाखभन्दा बढी आम्दानी भइसकेको छ, अहिले प्रत्येक साता मह काढ्छु”, उहाँले भन्नुभयो ।
मौरी चरनका लागि उपयुक्त कुडुँले फाँटमा यतिबेला तोरी फुलेको छ । तोरी फुल्ने मौसमका साथै मौरीका लागि उपयुक्त हावापनी भएकाले यहाँ महको उत्पादन दोब्बरले बढेको श्रेष्ठको भनाइ छ ।
“महको व्यावसायिक घार र प्रविधिको प्रयोगले मह काढिन्छ, उपयुक्त हावापानी र राम्रो चरन क्षेत्रका कारण मह उत्पादनमा राम्रो हुन्छ”, उहाँले भन्नुभयो, “अहिले कुडुँले फाँटमा एक सय घार मौरी चराउनका लागि एक हप्ताअघि ल्याएको थिए, एक हप्तामा तीन सय केजी मह उत्पादन भयो ।”
उहाँका अनुसार तीन सय केजीको बजार मूल्य रू तीन लाख ६० हजार पर्दछ । मौरीको ढुवानी र आउन जान खर्च भए पनि चरन क्षेत्र राम्रो हुँदा निकै फाइदा भएको उहाँको भनाइ छ । “अझै दुई पटक मह काढ्न सकिन्छ, त्यसपछि यहाँका घार पुनः अर्को स्थानमा पु¥याउने हो, यही तोरी फुलेको सिजनमा एक सय घार मौरीबाट १० लाख कमाउन सकिन्छ” उहाँले भन्नुभयो । चरन क्षेत्र राम्रो भएकाले एक महिनामा तीन पटक मह उत्पादन गर्न सकिन्छ ।”
महको चाकालाई असर नपर्ने गरी मह निकाल्दा माहुरीले छिटो मह उत्पादन गर्ने मह किसानको अनुभव छ । राम्रोसँग फस्टाएको घारमा एकै पटकमा १० केजीसम्म मह उत्पादन भएको श्रेष्ठको अनुभव छ ।
श्रेष्ठले स्थानीयलाई समेत मौरीको व्यावसायिक उत्पादनका लागि प्रेरणा दिनुभएको छ । कुडुँले फाँट र म्याग्दीको रत्नेचौर फाँट अहिले तोरीका कारण प्रख्यात बनेपछि तोरीको बहुउपयोगिताका लागि मौरी चरन क्षेत्रका रुपमा लिइएको म्याग्दी चिम खोला घर भई हालै मात्र मौरीपालन व्यवसायमा लागेर मह उत्पादन कार्य अवलोकन गर्न बागलुङको कुडुँले फाँटमा आउनुभएको डविन पुनले बताउनुभयो ।






