विद्यालयको ६७औँ वार्षिकोत्सवमा पूर्वउपराष्ट्रपति झा

  माघ १५, २०७९

गोलबजार, माघ १५ : पूर्वउपराष्ट्रपति परमानन्द झा सप्तरीको बलान बिहुल गाउँपालिका–३ मौवहामा अवस्थित राजेश्वरी माध्यमिक विद्यालयले ६७औँ वार्षिकोत्सव सहभागी हुनुभएको छ । विसं २०१२ मा स्थापना भएको विद्यालयको कार्यक्रममा सहभागी उहाँ आज मौवहा पुग्नुभएको हो ।

सो अवसरमा पूर्वउपराष्ट्रपति झाले श्रीमती नविना झाको नाउँमा स्थापना गरिएको नविना कल्याण कोषले उपलब्ध गराएको जेहेन्दार, विपन्न छात्रछात्रालाई नगद प्रदान गर्नुभयो ।

रु पाँच हजारका दरले आठजना छात्रछात्रालाई सम्मान प्रदान गरिएको हो । सो अवसरमा उहाँले अक्षयकोषबाट जेहेन्दार, विपन्न वर्गका विद्यार्थी प्रोत्साहित गर्दा शैक्षिक क्षेत्रमा सहयोग पुग्ने बताउनुभयो ।

सो अवसरमा बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले पूर्वउपराष्ट्रपति झाको सहयोगमा स्थापित अक्षयकोष समाज र शैक्षिक विकासका लागि उदाहरणीय रहेको बताउनुभयो । रु पाँच लाखको नवीना कल्याण कोष सञ्चालनका लागि आजै पाँच सदस्य सञ्चालक समिति गठन गरिएको छ ।

विद्यालय स्थापना भएको ६७औँ वर्ष भए पनि औपचारिक रुपमा पहिलोचोटि कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको प्रधानाध्यापक श्याम मण्डलले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी बलान बिहुल गाउँपालिका उपाध्यक्ष रेणु यादव, सो पालिका वडा नं ३ का वडाध्यक्ष राजकिशोर यादव, अभिभावकहरूले विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार गर्न योजना ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया