उत्तर पश्चिम इरानमा भूकम्पमा परी तीन जनाको मृत्यु, ८१६ घाइते

  माघ १५, २०७९

तेहरान, माघ १५ : उत्तरपश्चिम इरानको अजरबैजान प्रान्तमा शनिबार राति गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै ८१६ जना घाइते भएका छन् ।

बिहान ९:४४ मा भूकम्प गएको हो । खोय काउन्टीमा यसको केन्द्रविन्दु रहेको र ७ किलोमिटर गहिराइसम्म यसको असर रहेको बताइएको छ । मुख्य भूकम्पपछि थुप्रै परकम्प गएका थिए जसमा सबैभन्दा ठूलो ४.२ म्याग्निच्युडको रहेको इरानी भूकम्प विज्ञान केन्द्रले जनाएको छ।

भूकम्पका कारण खोय काउन्टीमा पनि अस्थायीरूपमा विद्युत अवरुद्ध भएको थियो । भूकम्प प्रभावित क्षेत्रबाट प्राप्त विवरणअनुसार ग्रामीण क्षेत्रमा भने यसको ठूलो क्षति भएको अनुमान गरिएको छ ।

दुई हप्तामा यो प्रदेशमा गएको यो दोस्रो ठूलो भूकम्प हो । गत जनवरी १९ मा खोय काउन्टीमा गएको ५.४ म्याग्निच्युडको भूकम्पमा परी १९० भन्दा बढी व्यक्ति घाइते भएका थिए।

तपाईको प्रतिक्रिया