बागलुङ बडिगाडकी महिलाको गुल्मीमा हत्या

  माघ १५, २०७९

बलेवा, माघ १५ : बागलुङको बडिगाड गाउँपालिकाकी एक महिलाको गुल्मीको मुसिकोट नगरपालिका–१ न्वारमा विभत्स हत्या भएको छ । बडिगाड गाउँपालिका–३ सिसाखानी घर भई मुसिकोट नगरपालिका–१ न्वारमा व्यवसाय गर्दै आउनुभएकी गङ्गादेवी शेरचनको शनिबार राति हत्या भएको प्रहरीले जनाएको छ ।

अन्ठाउन्न वर्षीया शेरचन न्वारमा ३० वर्षदेखि एक्लै होटल सञ्चालन गर्दै आउनुभएको थियो । बिहान अबेरसम्म पनि होटलको ढोका नखोलिएपछि स्थानीयवासीले परिवार र परिवारले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको थियो ।

खबर पाएलगत्तै वामी प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको थियो । अहिले घटनास्थलमा गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा पुगेको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ । “घटना हत्या भएको हाम्रो आशङ्का छ”, रानाभाटले भन्नुभयो, “अहिले कुकुरको सहायताले अनुसन्धान हुँदै छ ।” अविवाहित उहाँ एक्लै गङ्गा होटल सञ्चालन गर्दै आउनुभएको थियो । घटनाको थप अनुसन्धान भइरहेको रानाभाटले बताउनुभयो ।

शनिबार साँझ उहाँको होटलमा अपरिचित तीन व्यक्ति बास माग्न आएको स्थानीयवासीले प्रहरीलाई बताएका छन् । उनीहरू बिहान निस्के ननिस्केको विषयमा प्रहरीलाई जानकारी छैन । गङ्गाको शव हातगोडा बाँधिएको, रगत लत्पत्तिएको अवस्थामा रहेको रानाभाटले बताउनुभयो ।

तपाईको प्रतिक्रिया