लुम्बिनीमा शून्य प्लाष्टिक अभियान

  माघ १५, २०७९

देउखुरी, माघ १५ : भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्लाष्टिक शून्य अभियान थालिएको छ । प्लाष्टिकका कारण जताततै फोहर फैलिँदा यसबाट लुम्बिनी भ्रमण गर्न आउने पर्यटकमा नकारात्मक असर पार्ने तथा यहाँको वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले उक्त अभियान थालिएको हो ।

नगरलाई सफा र स्वच्छ बनाउन अभियान सुरु गरिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाले जनाएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ‘ग्रिनरी नेपाल’ नामक संस्थाले छ महिनासम्म यो अभियान सञ्चालन गर्ने छ । अभियानको आज सुरुआत गर्नुहुँदै रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले अन्तर्राष्ट्रिय पर्यटकीयस्थल भएकाले यस क्षेत्रमा सरसफाइ आवश्यक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “लुम्बिनीपछि यस क्षेत्रका अन्य स्थानीय तहलाई समेत शून्य प्लाष्टिक बनाउन पहल गर्नेर्छौं ।” जनसहभागिताले मात्र यस्ता अभियानले पूर्णता पाउने उहाँको भनाइ थियो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा हृदयरत्न बज्राचार्यले प्लाष्टिकजन्य फोहरले पर्यावरण र जलवायु परिवर्तनमा समेत नकारात्मक असर परेकाले विद्यालयदेखि विश्वविद्यालय तहसम्म यसबारे चेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले पर्यटकलाई आकर्षित गर्न र उनीहरुको बसार्इं लम्ब्याउन लुम्बिनी सफा र स्वच्छ हुनु पहिलो शर्त भएको बताउनुभयो । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले अभियानमा जनप्रतिनिधि, सामाजिक तथा व्यावसायिक सङ्घसंस्थाको सहभागितामा छ महिनासम्म सरसफाइ अभियान सञ्चालन गरिने बताउनुभयो ।

ग्रिनरी नेपालका अध्यक्ष निपेश ढाकाले अभियानमा संस्थाका २२ स्वयंसेवक चेतना अभिवृद्धिका साथै फोहर सङ्कलन, फोहर वर्गीकरण र फोहर विसर्जनमा खटिने उल्लेख गर्दै उक्त अभियानमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी क्षेत्रसँग जोडिएका गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल र शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले बुद्ध जन्मस्थल लुम्बिनीलाई प्लाष्टिक शून्य बनाउने अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया