व्यावसायिक च्याउ खेतीमा युवा आकर्षण बढ्दै

  माघ १४, २०७९

भजनी, माघ १४ : कैलालीको जानकी गाउँपालिका–४ का श्रीराम कठरिया विगत आठ वर्षदेखि व्यावसायिक च्याउ खेतीमा व्यस्त हुनुहुन्छ । गाउँमा एक गैरसरकारी संस्थाले दिएको तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागू गर्दै सुरु गरेको उहाँको व्यवसायले आठ वर्षमा निकै ठूलो फड्को मारेको छ ।

श्रीरामको परिवार सबै त्यहीँ व्यवसायमा केन्द्रित भएको छ । घरको आर्थिक अवस्थाले पढाइलाई निरन्तरता दिन नसक्नुभएका श्रीरामले घरमा आफू सुत्ने कोठाको एउटा कुनामा रु छ हजारबाट च्याउ खेती सुरु गरेको सुनाउनुभयो ।

उक्त लगानीबाट उहाँले रु १५ हजार आम्दानी गर्नुभयो । त्यसपछि बिस्तारै बढ्दै गएको उहाँको व्यवसायमा यतिबेला रु ४० लाख खर्च भइसकेको छ ।

उहाँको फार्ममा अहिले दैनिक ३० देखि ४० किलोसम्म च्याउ उत्पादन हुन्छ । उहाँलाई बजारीकरणको कुनै समस्या छैन । च्याउका लागि मानिस घरमै पुग्छन् । मौसममा रु एक सय ५० प्रतिकिलो र बेमौसममा रु तीन सयदेखि चार सयसम्ममा बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ ।

मौसमी तथा बेमौसमी च्याउ उत्पादन गर्दै आउनुभएका श्रीराम कृषि विषयमा प्रमाणपत्र तह अध्ययन गर्दैगर्दा मासिक शुल्क तिर्न नसकेर भारत पुग्नुभयो । श्रीरामलाई अहिले पैसाका लागि पछाडि फर्किनु परेको छैन ।

व्यावसायिक च्याउ खेतीबाट मासिक रु एक लाख बचत गर्न थालेपछि श्रीरामका आमाबुबाको छोराले सरकारी जागिर खानुपर्छ भन्ने हिजोको हठ पनि हटेको छ ।

“आर्थिक अभावकै कारण पढाइ पूरा भएन, पढाइ गर्दा लागेको ऋण तिर्न भारतमा गएर नौ महिना काम गर्नुप¥यो”, श्रीराम भन्नुहुन्छ, “अब पैसाको अभाव छैन, सबै परिवारसँगै काम गर्छौं, सबै कामबाट सन्तुष्ट छौँ ।”

उहाँले जागिरको पछाडि नलागेर व्यवसायबाट मनग्ये आम्दानी गर्न थालेपछि बुबाआमाले देखेको सपनाभन्दा ठूलो सफलता पाएको बताउनुभयो । “अब मलाई पछाडि फर्केर हेर्नुपर्ला जस्तो लाग्दैन, निरन्तरको मिहेनत र आत्मविश्वासले मलाई व्यवसायी बनाएको छ”, श्रीराम भन्नुहुन्छ, “मैले काम गरेको देखेर समुदायका केही युवा पनि आकर्षित भएका छन् ।”

च्याउ खेतीका लागि भवन बनाउन उहाँलाई राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनाले रु साढे पाँच लाख सहयोग गरेको थियो । बाँकी लगानी व्यवसायबाट भएको फाइदाबाटै भएको उहाँ बताउनुहुन्छ ।

व्यवसायलाई अझै बढाउने सोचमा श्रीराम हुनुहुन्छ । उहाँले च्याउको अचार बनाएर बजारीकरण गर्ने सोचसमेत बनाउनुभएको छ । “व्यवसाय बढ्दै गएको छ, आम्दानी राम्रो छ, अझै यसलाई स्तरीय बनाउनका लागि सोचिरहेको छु”, श्रीरामले भन्नुभयो, “च्याउको अचार उत्पादन गरेर त्यसलाई बजारीकरण गर्ने सोच बनाएको छु, च्याउको अचारको माग बजारमा राम्रो भएको पाएको छु ।”

त्यस्तै जानकी–५ पथरैयाका एन्जिल चौधरी पनि व्यावसायिक च्याउ खेती गर्दै आउनुभएको छ । कम लगानी र राम्रो आम्दानी हुन थालेपछि उहाँ च्याउ खेतीमा लागेको बताउनुहुन्छ ।

चार वर्षदेखि च्याउ खेतीमा लाग्नुभएका एन्जिललाई पनि पछाडि फर्केर हेर्नु परेको छैन । उहाँको परिवार नै त्यसैमा आबद्ध छ । मौसममा बढी काम हुने भएपछि उहाँले केही महिनाका लागि अरुलाई रोजगारीसमेत दिँदै आउनुभएको छ ।

धानको पराल टुक्रा पारेर त्यहीँ परालको टुक्रालाई आगोमा पकाएर प्लाष्टिकमा राखेर च्याउ उत्पादन गरिन्छ । प्लाष्टिकमा भरेको एक महिनामा च्याउले उत्पादन दिन सुरु गर्छ । अहिले पनि उहाँको फार्ममा आठ सय च्याउका पोका छन् ।

एउटा पोकाबाट तीन किलोसम्म उत्पादन हुन्छ । “एक पोकाबाट रु छ सयसम्म आम्दानी हुन्छ, त्यसमा हाम्रो लगानी रु एक सय ५० हुन्छ भने फाइदा रु चार सय ५० भयो”, एन्जिल भन्नुहुन्छ, “एक पटकमा रु छदेखि सात लाखसम्म कमाइ हुन्छ ।”

किसानहरूले यो मौसममा कन्या र डल्ले च्याउको व्यवसाय गर्दै आएका छन् । भदौदेखि फागुनसम्म च्याउ खेती राम्रो फस्टाउने भएपछि अन्य किसानमा पनि आकर्षण बढ्दै गएको छ ।

गर्मीमा भने मिल्की च्याउको उत्पादन हुने गरेको छ । च्याउका लागि कोठाको तापक्रम २० देखि ३० डिग्री, ९० प्रतिशत आद्रता र सफा हावा चाहिन्छ ।

व्यावसायिक रुपमा नभए पनि घरमा आफूलाई खान अधिकांशले च्याउ खेती गर्दै आएका छन् । च्याउ खेतीमा स्थानीय सरकारले पनि तालिम र बीउमा सहयोग गर्दै आएको टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विक बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया