पर्यटक प्रहरीले खेलेको भूमिका प्रशंसनीय : मन्त्री किराती

  माघ १२, २०७९

काठमाडौँ,माघ १२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत साधनका बीच पर्यटक प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

४४औँ पर्यटक प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सीमित साधनस्रोतमा पर्यटक प्रहरीले खेलेको भूमिकाको प्रशंसनीय रहेको बताउनुभएको हो । “पर्यटन विकासमा पूर्वाधारको निर्माणसँगै संस्कारको पनि उत्तिकै महत्त्व छ, प्राकृतिक सम्पदा र मानवीय सम्पदालाई सँगै मिसाएर पर्यटकीय वातावरण निर्माणमा सबै सरोकारवाला निकायले आपसी समन्वय गर्दै अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटक प्रहरीलाई अझ बढी सेवामैत्री र जनमैत्री बनाउन आवश्यक कार्ययोजना एवं नीति तयार गरी सोहीअनुरूप अगाडि बढ्नुपर्ने बताउनुभयो । पर्यटन प्रवर्द्धन, विकास एवं समृद्धिमा सम्बद्ध निकायले आ–आफ्नो क्षमता तथा दक्षतालाई अझ बढी क्रियाशील भई प्रदर्शन गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरीको महत्त्वपूर्ण विशिष्टिकृत एकाइका रूपमा पर्यटक प्रहरीको स्थापना भई पर्यटक प्रहरीले नेपालमा आउने पर्यटकलाई सुरक्षित गन्तव्य हो भन्ने महसुस गराउन उल्लेखनीय भूमिका खेलेको बताउनुभयो । पर्यटकलाई सेवा विस्तारसँगै उनीहरूको सुरक्षासँग सम्बन्धित विषयमा प्रहरी संवेदनशील भई कार्यसम्पादन गर्दै आएको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनञ्जय रेग्मी, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मसउँद आलम खाँ, पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेल, पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख सुगन्ध श्रेष्ठलगायतले पर्यटकलाई पर्ने समस्यामा पर्यटक प्रहरीेले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको थियो ।

कार्यक्रममा मन्त्री किरातीले पर्यटक प्रहरीको गतिविधिसम्बन्धी भिडियोको शुभारम्भ गर्नुका साथै पर्यटक प्रहरीसँग सूचना सम्मलित पकेट डायरी विमोचन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया