राज्यले कला क्षेत्रको विकासका लागि लगानी गर्नुपर्छ : पूर्वमन्त्री यादव

  माघ १२, २०७९

काठमाडौँ,माघ १२ : नेपाली कांग्रेसकी नेत्री एवं पूर्वउपसभामुख चित्रलेखा यादवले राज्यले कला क्षेत्रको विकासका लागि लगानी गर्नुपर्ने बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन कला तथा संस्कृति विभाग र मिथिला येँ आर्ट ग्यालरीको संयुक्त आयोजनामा आजदेखि ठमेलमा सुरु भएको अन्तर्राष्ट्रिय कला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले राज्यले कला क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभएको हो ।

“नेपाल कला तथा संस्कृतिको धनी मुलुक हो, नेपाली कलालाई विश्वमाझ चिनाउनका लागि राज्यले कला क्षेत्रमा लगानी गर्नुपर्छ”, उहाँले भन्नुभयो । नेत्री यादवले कलाकारलाई बाहिरका मान्छेले नबुझे पनि कलाकार संसारको मार्गदर्शक भएको बताउनुभयो । कला र कलाकारको कुनै बन्धन नहुने उहाँको भनाइ थियो ।

वरिष्ठ कलाकार ज्ञानेन्द्रमान अमात्यले विश्वका सबै कलाको आ–आफ्नो विशेषता रहेको बताउँदै यस्ता कला प्रदर्शनीले अन्तर्राष्ट्रियस्तरमा नेपाली कलालाई जोडेको बताउनुभयो ।

मिथिला येँ आर्ट ग्यालरीका सञ्चालक एवं वरिष्ठ कलाकार रामसुन्दर यादवले नेपाली कलालाई संसारभरका कलाकारसँग जोड्नका लागि ग्यालरीले काम गर्दै आएको बताउनुभयो ।

विगत १७ वर्षदेखि सञ्चालनमा रहेको मिथिला येँ आर्ट ग्यालरीमा हालसम्म तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन गरिसकिएको छ । तीन वर्षदेखि गिरिजाप्रसाद कोइराला फाउण्डेशनको सहकार्यमा कला प्रदर्शन गर्दै आएको उहाँको भनाइ छ ।

यही माघ १७ गतेसम्म सञ्चालन हुने कला प्रदर्शनीमा अष्ट्रेलिया, बङ्गलादेश, इजरायल, भारत, नेपालका नौ कलाकारले कोरेका ३१ तस्बीर प्रदर्शनीमा राखिएका छन् ।

तपाईको प्रतिक्रिया