दाङ,माघ ११ : भताभुङ्ग भएको घोराही तुलसीपुर सडक खण्डमध्ये ११ किलोमिटर सडक तुलसीपुरका युवाले मर्मत गरेका छन् । चार वर्षअघि सडक स्तरोन्नतिका लागि जिम्मा पाएको निर्माण कम्पनीले सडक अलपत्र छोडेपछि यहाँका युवा मर्मतमा सक्रिय भएका हुन् ।
तुलसीपुर उपमहानगरपालिकामा कार्यरत इन्जिनियर पवन योगीको नेतृत्वमा सडक मर्मतमा जुटेका युवाले यही माघ ५ गतेदेखि हिजो मङ्गलबारसम्म अभियान सञ्चालन गरेका थिए । तुलसीपुरका युवा व्यवसायी, समाजसेवीले सडक मर्मतका लागि टिपर, रोलर, जेसिबी, ग्राडेर ट्र्याक्टर पानी टेयाङ, गरी ७८ वटा सवारीका सधान निःशुल्क उपलब्ध गराएको अभियानका संयोजक पवनकुमार योगीले जानकारी दिनुभयो ।
उपलब्ध साधन सञ्चालनका लागि विभिन्न क्षेत्रका ४४ व्यक्तिले दुई हजार पाँच सय ५७ लिटर डिजल उपलब्ध गराएका थिए । जनशक्ति, सवारी साधन, इन्धन, सामग्री गरी कूल रु २५ लाख बराबरको काम सम्पन्न भएको पनि इन्जिनियर योगीले बताउनुभयो ।
तुलसीपुर घोराही सडकमा दिनहुँ यात्रु तथा आम नागरिकले खेप्नुपरेको समस्या समाधान गर्न तुलसीपुर उपमहानगरपालिकाको अनुमति लिएर काम सुरुगरेको योगीले बताउनुभयो । उपमहानगरपालिकाले लिखितरुपमा पत्र उपलब्ध गराएपछि गत माघ ५ गतेदेखि अभियान सुरु गरेको अभियानका सदस्य विनिल केसीले जानकारी दिनुभयो ।
सैबीच सडक मर्मत कार्यमा सहयोग गर्ने सबैलाई अभियानका संयोजक इन्जिनियर योगीले धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले तुलसीपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सडकमा भएका खाल्डाखुल्डी मर्मत गरी दुर्घटना न्युनीकरण अभियानको काम सम्पन्न भएको र सो अवधिभर काममा सहयोग तथा सल्लाह दिनुहुने तुलसीपुर उपमहानगरपालिका कर्मचारी, युवा व्यवसायी, यातायात व्यवसायी, सहयोगी दाता पत्रकार, तथा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
चार लेन सडक निर्माणको जिम्मा लिएको भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिले पेटी ठेकेदार धेरैपटक परिवर्तन गरेको छ । उसले सरकारबाट चार पटक म्याद थपाएको पनि छ तर काम भने भएको छैन ।
सुरुमा ३३ महिनामा काम सक्ने गरी परियोजनासँग निर्माण सम्झौता भएको होे । सुरुको सम्झौता भएको सन् २०१९ जनवरी २८ मा तर अहिलेसम्म सडक स्तरोन्नतिको भौतिक प्रगति नौ प्रतिशत मात्रै छ ।






