वातावरणमैत्री जीवनको अवधारणालाई प्रवद्र्धन गर्न दौड आयोजना

  माघ ०७, २०७९

काठमाडौँ, माघ ७ : वातावरणमैत्री जीवनको अवधारणालाई प्रवद्र्धन गर्ने हेतुले ‘आजादीका अमृत महोत्सव’अन्तर्गत दौड आयोजना गरिएको छ ।

पशुपति मन्दिर परिसरमा नेपालस्थित भारतीय राजदूतावासले आज आयोजना गरेको पाँच किमी लामो दौडमा कलाकार प्रदीप खड्का, पर्वतारोहीद्वय पूर्णिमा श्रेष्ठ र कल्पना महर्जन र नेपालका प्रथम ‘आइरन म्यान’ उपाधि विजेता आलोक खत्रीलगायत करिब एक हजार जनाको सहभागिता थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले झण्डा देखाई दौड कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । राजदूत श्रीवास्तवले भारत र नेपालका जनताले वातावरणमैत्री जीवनशैली अपनाई पृथ्वीलाई बचाउने कार्यमा हातेमालो गर्ने विश्वास व्यक्त गर्नुभयो ।

दौड पूरा गर्ने शीर्षपुरुष तथा महिला धावकलाई मन्त्री किराती र राजदूत श्रीवास्तवले रिसाइकल गरी बनाइएको धातुबाट निर्मित लाइफ पदक तथा बिरुवा प्रदान गरी सम्मान गर्नुभएको थियो ।

जलवायु परिवर्तनविरुद्ध व्यक्ति, परिवार तथा समुदायस्तरबाट भएका संयुक्त प्रयास एवं योगदानलाई प्रवद्र्र्धन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ अक्टोबरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको समुपस्थितिमा मिसन ‘लाइफ’को सुरुआत गर्नुभएको हो । विश्वभरका मानिसलाई सरल एवं वातावरणमैत्री जीवनशैली अपनाउन प्रोत्साहन गर्नु मिसन ‘लाइफ’को उद्देश्य रहेको छ ।

तपाईको प्रतिक्रिया