दमौली,माघ ७ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई रू छ लाख ५० हजार बराबरको छात्रवृत्ति रकम वितरण गरेको छ । आँबुखैरेनी गाउँपालिका क्षेत्रभित्रका स्थायी ठेगाना भएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पु¥याउने उद्देश्यसहित गाउँपालिकाले २२ जनालाई छात्रवृत्ति प्रदान गरेको हो ।
गाउँपालिका छात्रवृत्ति वितरण कार्यविधि, २०७९ अनुसार गत मङ्सिर २९ गते प्रकाशित सूचनाबमोजिम निवेदन पेश गरेका विद्यार्थीलाई छात्रवृत्ति वितरण समितिको सिफारिस तथा गाउँ कार्यपालिकाको निर्णयबमोजिम छात्रवृत्ति प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।
“विभिन्न तहमा अध्ययनरत विद्यार्थीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यसहित छात्रवृत्ति रकम वितरण गरेका हौँ, यसले गर्दा उहाँहरूको पढाइलाई टेवा पुग्ने विश्वास लिएका छौँ”, चुमानले भन्नुभयो ।
छात्रवृत्ति प्राप्त गर्नेमा उच्च माध्यमिक तहदेखि विद्यावारिधि तहसम्म अध्ययनरत विद्यार्थी छन् । छात्रवृत्ति पाउनेमा आँबुखैरेनी गाउँपालिका–३ का अमर ठकुरीले युनिभर्सिटी अफ साउथ डाकोटाबाट विद्यावारिधि गर्दै हुनुहुन्छ । गाउँपालिकालाई उहाँलाई रू एक लाख छात्रवृत्ति रकम वितरण गरेको छ ।
गाउँपालिकाले आँबुखैरेनीस्थित मित्रता माविमा अध्ययनरत सरन विक, रक्षा खनाल, सलिना विकलाई रू ५० हजारका दरले र सोही विद्यालयमा अध्ययनरत सुनिता नेपालीलाई रु १५ हजार वितरण गरेको छ ।
गण्डकी आवासीय माध्यमिक विद्यालयमा उच्च शिक्षा अध्ययनरत वृक्षा बयलकोटीलाई रु ३० हजार, गोल्डेन गेट इञ्जिनियरिङ कलेजमा अध्ययनरत सुलभ श्रेष्ठलाई रू ५० हजार, अरोमा माध्यमिक विद्यालयमा अध्ययनरत आस्था थापालाई रु ३० हजार वितरण गरिएको छ ।
साथै, राम शाह माविमा अध्ययनरत सिर्जना थापा, सङ्गम मगर, मिरिन आलेमगर, विमला गुरुङ, शुक्रराज गुरुङ, विमल गुरुङलाई रू १५ हजारका दरले छात्रवृत्ति रकम वितरण गरिएको छ । सोही विद्यालयमा अध्ययनरत रचना प्रगति र अनिष रसाइलीलाई रू ३० हजारका दरले रकम वितरण गरिएको छ ।
गाउँपालिकाले बिबिए अध्ययनरत श्रेया गौलीलाई रू ५० हजार, आँबुखैरेनी क्याम्पसमा अध्ययनरत खिलमाया खवास र पूर्णिमा खवासलाई रू २० हजार, जनप्रिय माविमा अध्ययनरत दिक्षा दुवाडीलाई रू १५ हजारका दरले रकम वितरण गरेको छ ।