उमेर अन्तरले फरक पार्छ कि पार्दैन ?

  माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : फिल्म ‘डिसेम्बर फल्स’ मा अभिनेता आर्यन सिग्देल हुनुहुन्छ भने उहाँको ‘को–स्टार’ उपासनासिंह ठकुरी हुनुहुन्छ । आफ्नो उमेरभन्दा आधा उमेर कम भएकी अभिनेत्री ठकुरीसँग अभिनेता सिग्देलले ‘अनस्क्रिन रोमान्स’ गर्नुभएको छ ।

यी दुईको जोडीलाई दर्शकले समेत रुचाएका छन् । अभिनेत्री ठकुरीले ‘डेब्यु’ फिल्मदेखि नै आफ्नो उमेर समूहको अभिनेतासँग नदेखिएको बताउनुभयो ।

“डेब्यु फिल्म ड्रिम्समै अनमोल केसी मभन्दा पाँच वर्ष जेठो हुनुहुन्थ्यो । त्यसपछि दयाहाङ राई, सौगात मल्लसँग काम गरँे । मलाई उमेर अन्तरले असर गरेको छैन ।

उहाँहरूको अनुभवले सिक्ने अवसर पाएकी छु”, अभिनेत्री ठकुरीले भन्नुभयो, “अभिनेत्रीलाई आफ्नै उमेर समूहको को–स्टार पाउन सहज छैन । यद्यपि उमेर अन्तर भने मैले अभिनय गरेका कुनै कलाकारमा देखिएको छैन ।”

अभिनेत्री ठकुरीझैँ साम्राज्ञी आरएल शाहले पनि अभिनेता केसी र सिग्देलसँग काम गरिसक्नुभएको छ । उहाँ अभिनित पछिल्लो फिल्म ‘ह्यारी कि प्यारी’ मा जोडी हास्यकलाकार जितु नेपाल हुनुहुन्छ ।

अभिनेता सिग्देलसँग स्क्रिन सेयर गर्दा नै उहाँले विभिन्न प्रतिक्रिया पाउनुभएको थियो । “हामीले पर्दामा भूमिका निर्वाह गर्छौं । त्यसैले गर्दा मलाई उमेर अन्तरले फरक पार्छजस्तो लाग्दैन । यद्यपि सुहाउँदो भने हुनुपर्छ”, अभिनेत्री शाहले भन्नुभयो ।

तपाईको प्रतिक्रिया