पर्यटकीय गन्तव्य बन्दै ‘शङ्खे पहरा’

  माघ ०३, २०७९

गलकोट, माघ ३ : बागलुङ जैमिनी नगरपालिका—५ बिनामारेस्थित रिठ्ठे डाँडामा रहेको शङ्खे पहरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको छ । अक्करे पहराको प्वाल फुकेर शङ्खको धोनीजस्तो आवाज निस्कने भएकाले बुढापाकाले त्यस पहरालाई शङ्ख बज्ने पहरा नामकरण गरेका थिए । सो क्षेत्रमा स्थानीयवासीले पर्यटक आर्कषण गर्ने गरी भौतिक संरचनासमेत निर्माण गर्न थालेका छन् ।

सो क्षेत्रको पर्यटन विकासका लागि स्थानीयवासी एक जुट मात्रै भएका छैनन् त्यसको प्रचार र पवद्र्धनमा लागि परेका हुन् । सोधखोज गर्ने क्रममा उक्त पहरामा रहेको दुई वटा प्वालमा फुक्दा शङ्खकोध्वनीजस्तो निस्किएपछि यसको प्रचार गर्न थालिएको स्थानीय हर्कबहादुर थापामगर बताउनुहुन्छ । थापाले भन्नुभयो, “राम्रो शङ्खध्वनी निकाल्ने अग्रज बितेर जानुभयो, बुढापाकाले स्वास पु¥याउनै मुस्किल छ, यहाँका केही युवाले शङ्ख फुक्न सिकेका छन् ।” थापाका अनुसार पहरा नजिकै नाक ओढार भन्ने ठाउँ छ भने खानी उत्खनन्का लागि बनाएका केही प्वाल भेटिन्छन् । पहरा भन्दा केही पर एक सय ५० भन्दा बढी व्यक्ति अटाउने ठूलो ओढार रहेको स्थानीयवासीको भनाइ छ । रिठ्ठेडाँडा, पहरा, नाके वडार, खानीका अवशेष र ठूलो ओढारलाई समेटेर पर्यटकीय पूर्वाधारको काम थालिएको अर्का स्थानीय पुष्पबहादुर थापाले बताउनुभयो ।

स्थानीयवासीले पटक–पटकको प्रयासपछि मात्रै शङ्खध्वनी निकाल्न सम्भव भएको थापाको भनाइ छ । “यसको संरक्षण र प्रचारका लागि पछिल्लो समय केही पर्यटकीय पूर्वाधार र काम थालिएको छ”, थापाले भन्नुभयो “यहाँका युवा यसको प्रर्वद्धनमा लागेका छन्, केही बजेटमा पूर्वाधारको काम भएको छ, पहरा अक्करे भीरमा रहेकाले रेलिङसहितको पदमार्ग आवश्यक छ, अहिले बाटो मात्रै पु¥याएका छौँ ।”

गत वर्ष रिठठेडाँडामा पर्यटकीय उद्यानको काम थालिएको छ । पोखरामा प्याराग्लाईडिङ गराउने युवा टेकबहादुर थापाले आफ्नो ठाउँको विकासका लागि प्रयास गर्नुभएको हो । उहाँले थालेको प्रयासमा स्थानीयवासीले साथ दिएपछि यो पहरा एकाएक चर्चामा आउन थालेको हो । पर्यटन व्यवसायी तथा प्याराग्लाइडर टेकबहादुरकै अध्यक्षतामा रिठठेडाँडा पर्यटन पूर्वाधार निर्माण उपभोक्ता समिति गठन गरेर पहराको संरक्षण र अन्य पूर्वाधार निर्माणको काम गत वर्षदेखि थालिएको हो । पछिल्लो समय पहराबाट शङ्खकोध्वनी कसरी निस्किँदो रहेछ भन्ने जिज्ञासाका साथ आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । थापाले भन्नुभयो “पहराबाट शङ्खको आवाज निस्कनु अनाँैठो भएकाले त्यसको संरक्षण र प्रचारप्रसार गर्न आवश्यक ठानेर आगुवाइ गरेको थिएँ, अहिले केही मिडियाकरण भएपछि पहरा चर्चामा आउन थालेको छ ।”

पहरा छेउमा विभिन्न देवताका आकृति देख्न सकिन्छ । पहरा एकदमै डरलाग्दो भीर भएका कारण पदमार्गसँगै तारबार गर्नुपर्ने देखिन्छ । गत आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट प्राप्त रु नौ लाख बजेटबाट रिठठेडाँडामा घेराबार गरिएको छ । पदमार्ग र पोखरी ढलान तथा उद्यान निर्माणको काम पनि अगाडि बढेको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत पूर्वाधार विकास कार्यालयको रु चार लाख ५० हजार बजेटबाट चौतारो संरक्षण र उद्यान निर्माण गरिएको छ । त्यस क्षेत्रमा अन्य भौतिक पूर्वाधार निर्माणको काम पनि थालिएको भए पनि पछिल्लो समय बजेट अभाव भएको छ ।

नगरपालिकाको पर्यटकीय क्षेत्रको रुपमा नजर परेकाले त्यसका विकासका लागि नगरपालिकाले ध्यान दिने जैमिनी नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो । उहाँले जैमिनी नगरभित्रका यो पहरा जस्ता अन्य पर्यटनको सम्भावना बोकेका क्षेत्रलाई समेटेर एकमुष्ट विकास गरिने बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया