लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति हुँदै

  माघ ०२, २०७९

ढोरपाटन, पुस ३० : निसीखोला मोटरबाटोले जोडिएको धेरै भएको छैन । एक दशक अगाडि मध्यपहाडी लोकमार्गले जोडिएपछि थुप्रै शाखा सडक निर्माण भए । विसं २०६६-६७ मा लोकमार्ग निसीखोला हुँदै रुकुम जोडिएको थियो । सो मार्ग देवीस्थान–झिवाखोला हुँदै निसी जोडिएपछि बायखोला–झिम्पा क्षेत्रका स्थानीय ओझेलमा परेका थिए ।

विसं २०७५ मा गाउँपालिका र केन्द्र सरकारको समन्वयमा लोकमार्गको वैकल्पिक सडकका रुपमा बायखोला–झिम्पा सडक निर्माण भयो । पाँच वर्ष अगाडि निर्माण भएको वैकल्पिक सडक साँघुरो र जोखिमयुक्त छ ।

निसीखोला गाउँपालिकाले यस सडकलाई अघिल्लो आवदेखि स्तरोन्नति गर्न थालेको छ । गाउँपालिकाले वडा नम्बर २ को बायखोलादेखि वडा नम्बर ५ को निसी ढाँडसम्मको १५ किलोमिटर सडक स्तरोन्नति गर्न थालेको हो ।

यो सडक सुरुमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि अवरोध र विवादका कारण अर्को पट्टिबाट लगिएको स्थानीय बताउँछन् । यो सडकले ढोरपाटन नगरपालिका–२ देखि निसीखोला गाउँपालिका वडा नम्बर ५ जोडेको छ ।

सडक स्तरोन्नतिका लागि गाउँपालिकाले एक करोड ३० लाख र केन्द्र सरकारले एक करोड ३० लाख गरी दुई करोड ६० लाख विनियोजन भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । अघिल्लो आवमा गाउँपालिकाले विनियोजन गरेको ८५ लाखले काम थालनी गरेको र यस वर्ष बढी सडक स्तरोन्नति हुने गौतमको भनाइ छ ।

“यो सडक लोकमार्गको वैकल्पिक र गाउँपालिकाको गौरवको आयोजना हो, १५ किलोमिटर सडक छ, यसको स्तरोन्नति गर्न बढी नै बजेट आवश्यक पर्छ, थोरै–थोरै बजेट विनियोजन हुँदा एकैपटक काम सक्न सकिएको छैन”, सूचना अधिकारी गौतमले भन्नुभयो, “यस वर्ष साढे दुई करोड बढी बजेट विनियोजन भएको छ, यसले अघिल्लो वर्षको तुलनामा धेरै काम हुनेछ ।”

सडक स्तरोन्नति गर्न बोलपत्र आह्वान भएको र ठेक्का सम्झौताको प्रक्रिया सुरु भएको उहाँको भनाइ छ । यो वर्ष सडक चौडा गर्ने, नाली निर्माणलगायत काम हुने गौतमले बताउनुभयो ।

आगामी माघ दोस्रो सातादेखि स्तरोन्नतिको काम सुरु हुने उहाँको भनाइ छ । अघिल्लो पटक गाउँपालिको १५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गर्न १५ करोड बढी बजेट आवश्यक पर्ने अनुमान गरेको थियो ।

वडा नम्बर ४ का अध्यक्ष टिकानिधि पौडेलले यो सडक गाउँपालिकावासीको ‘लाइफ लाइन’ भएको भन्दै हरेक वर्ष बजेट विनियोजन गरी स्तरोन्नतिको काम गरिरहेको बताउनुभयो । बर्खाको समय लोकमार्ग अवरुद्ध हुने हुँदा यो सडक उपयुक्त हुने उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “यो सडक निसीखोलावासीको भविष्यसँग जोडिएको छ, मध्यपहाडी लोकमार्गसँगै सडकले सयौँ नागरिकको जीवन बदलिएको छ, यसको स्तरोन्नतिका लागि गाउँपालिकाले हरेक वर्ष बजेट छुट्याउँदै आएको छ, केन्द्र सरकार र प्रदेश सरकारले बजेट छुट्याउन जरुरी छ, यो सडक मेरो वडामा बढी पर्ने भएको हुँदा हामी स्तरोन्नतीमा जुटेका छौँ ।”

गाउँपालिकाका निवर्तमान अध्यक्ष तारानाथ पौडेलले सडकको विसं २०६३ मा ट्रयाक खोल्न सुरु गरे पनि लामो समयसम्म स्थानीयस्तरमा विवाद हुँदा र बजेट अभावले सकडले पूर्णता पाउन नसकेको बताउनुभयो ।

स्थानीय सरकार गठन भएपछि विसं २०७५ मा पालिकाले बजेट छुट्याएर ट्रयाक खोलेको भन्दै अघिल्लो वर्ष स्तरोन्नतिलाई थोरै बजेट छुट्याएर काम सुरुवात गरेको बताउनुभयो ।

साविक निसी, बोहोरागाउँ र देवीस्थान गाउँ विकास समितिले दुई-दुई लाख, अर्थ मन्त्रालयबाट ४०, डोलीडार संस्थाबाट सात लाख, जिल्ला विकास समितिबाट आठ लाख गरी ६१ लाखमा सडकको ट्रयाक खोलेको पौडेलले स्मरण गर्नुभयो । सडकले गाउँपालिका २, ४ र ५ का हजारौँ नागरिकको दैनिकी फेरि दिएको छ ।

उहाँले भन्नुभयो, “लामो समयको संघर्षपछि अहिले सबै ट्रयाक खोलेका थियौँ, स्तरोन्नति गर्न अहिले गाउँपालिकाले तदारुकता देखाएको छ, सडक निर्माणमा विभिन्न पक्षबीच विवाद हुँदा ढोरपाटन नगरपालिकाको पाखुतेदेखि निसीखोला –२ बायखोलासम्म र –५ को ढाँडदेखि वडा नम्बर ४ को खाडचौरसम्म ट्रयाक खोलिए पनि चार किलोमिटर सडक निर्माण नहुँदा सडक पूर्ण रुपमा जोडिएको थिएन ।

पालिका स्थापनाको पहिलो वर्ष हामीले ४५ लाख विनियोजन गरी चार किलो मिटर सडक खनेर दुबै पट्टीको सडक जोडेका थियौँ ।”

यो सडक मध्यपहाडी लोकमार्गभन्दा दुई किलोमिटर छोटो पर्ने स्थानीयले बताएका छन् । स्थानीय कृषक धर्मराज पोखरेलले वैकल्पिक सडकले गाउँ जोडिएपछि आफूहरुले उत्पादन गरेको फलफूल तथा तरकारीले सहज रुपमा बजार पाउन थालेको बताउनुभयो ।

उहाँले गाउँमा सडक नजोडिँदा डोकोमा बोकेर बजार पु¥याउने गरेको भन्दै अहिले ग्राहकसमेत बारीमै तरकारी लिन आउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले गाउँमा सडक नहुुँदा यहाँका कृषक, व्यवसायीलाई निकै कठिन थियो, सामान ढुवानी गर्न घोडा खच्चडको प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

अहिले गाडीमार्फत सहजै सामान ढुवानी गर्न थालेका छन्, त्यति मात्रै होइन, सडकले नजोडिएको अवस्थामा गाउँमा कोही बिरामी प¥यो भने डोकोमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता थियो, अहिले त्यो समस्याको अन्त्य भएको छ, स्तरोन्नति भएपछि अझ बढी सहज हुने छ ।”

तपाईको प्रतिक्रिया